जनकपुरधाममा विश्व प्रेस स्वतन्त्रता दिवस विविध कार्यक्रमसहित मनाइयो, पत्रकारका लागि स्वास्थ्य परीक्षण र रक्तदान,

जनकपुरधाममा विश्व प्रेस स्वतन्त्रता दिवस विविध कार्यक्रमसहित मनाइयो, पत्रकारका लागि स्वास्थ्य परीक्षण र रक्तदान,

 

सुनिल कुमार साह ,

लोक आवाज ,जनकपुरधाम, वैशाख २० — विश्व प्रेस स्वतन्त्रता दिवस २०८२ को अवसरमा जनकपुरधाममा पत्रकारिता, स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई जोड्ने गरी विविध कार्यक्रमहरू सम्पन्न भएका छन्। ‘नयाँ साहसिक विश्वमा पत्रकारिता: प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रभातफेरी, नसर्ने रोग परीक्षण, पाठेघरको मुखको स्क्रिनिङ्ग तथा रक्तदान जस्ता क्रियाकलाप समेटिएका थिए।

 

नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा आयोजना गरिएको प्रभातफेरी महासंघको कार्यालयबाट सुरु भई रामचोक, सोनारपट्टी, जानकी मन्दिर, जनक चौक हुँदै पुनः महासंघकै कार्यालयमा समापन भएको थियो। प्रभातफेरीमा धनुषाका पत्रकार, सञ्चारकर्मी, महासंघका पदाधिकारी र विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

 

प्रभातफेरीका सहभागीहरूले प्रेस स्वतन्त्रताको संरक्षणका लागि आवाज उठाउँदै राजनीतिक, आर्थिक र प्रविधिमार्फत मिडियामा भइरहेको हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले निष्पक्ष र उत्तरदायी पत्रकारिताको वातावरण निर्माण गर्न राज्यका सबै तहले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

 

महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “प्रेस स्वतन्त्रता कुनै सजिलै प्राप्त हुने अधिकार होइन। यो निरन्तर संघर्ष, जनदबाब र संवैधानिक अभ्यासबाट मात्र सुरक्षित रहन सक्छ।” उनले हाल मिडियामाथि देखिएको प्रत्यक्ष र अप्रत्यक्ष दबाबप्रति सचेत रहनुपर्नेमा पत्रकारहरूलाई आग्रह गरे।

 

कार्यक्रमको अर्को विशेष पक्ष प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको सहयोगमा सञ्चालित पत्रकार लक्षित स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम रह्यो। आयोजकका अनुसार, पत्रकारहरूको व्यस्त दिनचर्या, अस्थिर जीवनशैली र मानसिक तनावका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले यस्तो परीक्षण अत्यावश्यक छ।

शिविरमा शरीरको तौल र उचाइको अनुपात (बीएमआई), उच्च रक्तचाप, मधुमेह, मृगौला सम्बन्धी परीक्षण, महिलाका लागि पाठेघर मुखको क्यान्सर स्क्रिनिङ्ग तथा स्वैच्छिक रक्तदान सेवा प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी भएका अधिकांश पत्रकारहरूले यस्तो परीक्षणले आफ्नो स्वास्थ्यप्रति सजग हुन मद्दत गरेको बताएका छन्।

कार्यक्रमको मूल नाराले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगले ल्याएको प्रविधिगत परिवर्तनलाई समेत संकेत गर्‍यो। सूचना संकलन, विश्लेषण र सम्पादन प्रक्रियामा एआईले सहजता ल्याएको भए पनि यसका दुरुपयोग, पूर्वाग्रही सामग्रीको उत्पादन र पत्रकारहरूको पेशागत भूमिकामा असर पुर्‍याउने सम्भावनाले नयाँ बहसको ढोका खोलिएको सहभागीहरूको भनाइ थियो।

 

नेपाल पत्रकार महासंघले यस विषयमा नीति तहमा चाँडै संवाद सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। महासंघका अनुसार पत्रकारिता र प्रविधिको सन्तुलित सहअस्तित्वका लागि स्पष्ट मार्गदर्शन आवश्यक छ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित आजको कार्यक्रमले पत्रकारहरूको व्यावसायिक अधिकारका साथै स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको सहभागीहरूको प्रतिक्रिया थियो। उनीहरूले यस्ता कार्यक्रमले पत्रकारितामा आत्मबल थप्ने विश्वास व्यक्त गरे।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार