जनकपुरधाम, १९ वैशाख । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–७ स्थित सखुवा बजार नजिकै पाँच सय मेट्रिक टन क्षमताको आधुनिक शीतभण्डार (कोल्ड स्टोर) निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । तराई–मधेस क्षेत्रका किसानहरूलाई आफ्नो कृषिजन्य उत्पादन सुरक्षित राख्न कठोर चुनौती भोग्नुपर्ने परिस्थितिमा यस्तो पूर्वाधारले कृषक समुदायमा नयाँ आशा र सम्भावनाको ढोका खोलिदिएको छ ।
‘स्टोर ग्रीन नेपाल एसकेजी’ नामक निर्माण कम्पनीले ७ करोड २८ लाख १२ हजार ६५८ रुपैयाँको लागतमा शीतभण्डार निर्माणको जिम्मेवारी लिएको छ । संघीय सरकारको २०७८/७९ को कृषि व्यवसाय प्रवद्र्धन परियोजनाअन्तर्गत ५० प्रतिशत अनुदानमा निर्माण भइरहेकाे यस परियोजनाको सम्झौता २०८१ असार २३ मा भएको थियो । कम्पनीका अनुसार आगामी २०८२ मङ्सिर २३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । हालसम्म ४० प्रतिशत निर्माण कार्य पूरा भइसकेको जनाइएको छ ।
शीतभण्डारका लागि क्षिरेश्वरनाथ नगरपालिकाले १० कठ्ठा सार्वजनिक जमिन निःशुल्क प्रदान गरेको छ । साथै नगरपालिकाले पहुँच मार्ग निर्माण, जमिन व्यवस्थापन र सहुलियत सुविधा उपलब्ध गराउने काममा सहयोग पुर्याएको छ । निर्माणस्थलको भौगोलिक दृष्टिले सखुवा बजार वरपरका दिगम्बरपुर, औरहा, इच्छापुर, शिवनगरलगायत गाउँका किसान प्रत्यक्ष लाभान्वित हुने देखिन्छ ।
नगर प्रमुख सुखदेव यादवले शीतभण्डार परियोजनालाई कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा व्याख्या गर्दै भने, “हाम्रो क्षेत्रमा आधाभन्दा बढी किसान तरकारी तथा मौसमी फलफूल उत्पादनमा आश्रित छन् । उचित भण्डारण सुविधा नहुँदा उत्पादन घाटामा जान्थ्यो, अब भने किसानले उपयुक्त मूल्यमा बिक्री गर्न सक्नेछन् ।”
स्थानीय कृषकहरूमा यो परियोजना प्रति उच्च आशा पलाएको छ । औरहा गाउँका सत्यनारायण साह भन्छन्, “अब उत्पादन सुरक्षित गर्न सकिन्छ, मूल्य घट्दा बेच्न नपर्ने र पछि राम्रो मूल्य आउँदा फाइदा लिन सकिन्छ ।” दिगम्बरपुरका युवा कृषक रमेश महतोले कोल्ड स्टोरलाई ‘परिवर्तनको शुरुवात’ भनेका छन् ।
यद्यपि, कृषि विज्ञ र सरोकारवालाहरूका अनुसार परियोजनाको दीर्घकालीन सफलताका लागि दक्ष जनशक्ति, पारदर्शी सञ्चालन मोडेल, स्थानीय सहकार्य र सशक्त व्यवस्थापन समिति गठन अपरिहार्य छ । स्थानीय कृषि प्राविधिक रामशरण ठाकुर भन्छन्, “शीतभण्डारको सही प्रयोग भए किसानले ३०–५० प्रतिशतसम्म थप लाभ लिन सक्छन् ।”
तराई क्षेत्रका किसानहरूले बिचौलिया व्यापारीको भरमा कृषि व्यवसाय चलाइरहेका बेला, यस्तो शीतभण्डारले उत्पादन र बजारबीच सन्तुलन कायम राख्न मद्दत गर्ने विश्वास गरिएको छ । साथै, कृषि उत्पादनको मूल्य श्रृंखला व्यवस्थापनमा यो परियोजना ‘गेम चेन्जर’ बन्ने अपेक्षा गरिएको छ ।
शीतभण्डारको निर्माणले कृषिमा आत्मनिर्भरताको मार्ग देखाएको भए पनि, यसको प्रभावकारी सेवा सञ्चालनका लागि दीर्घदृष्टि र स्थानीय सहभागिता अत्यावश्यक देखिन्छ ।




प्रतिक्रिया !