धनुषामा वैशाख २० गते एमालेको आठौं जिल्ला अधिवेशन, अध्यक्ष पदमा सात नेताको चर्चा

धनुषामा वैशाख २० गते एमालेको आठौं जिल्ला अधिवेशन, अध्यक्ष पदमा सात नेताको चर्चा

सुनिल कुमार साह 

लोक आवाज ,जनकपुरधाम, १७ वैशाख — नेकपा एमाले धनुषाको आठौं जिल्ला अधिवेशन आगामी वैशाख २० गतेदेखि जनकपुरधाममा सुरु हुने भएको छ। अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै मंगलबार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला इन्चार्ज तथा पोलिटब्यूरो सदस्य जुली महतोले अधिवेशनको लोगो र नारा सार्वजनिक गरिन्।

देशभरका ७७ मध्ये ७६ जिल्लामा एमालेको अधिवेशन सकिइसकेको अवस्थामा अब धनुषा मात्र बाँकी रहेको छ। यसै कारण धनुषा जिल्लाको अधिवेशन ७७ औं र अन्तिम अधिवेशन बन्न लागेको हो। पत्रकार सम्मेलनको सञ्चालन एमाले धनुषाका वर्तमान अध्यक्ष राजकिशोर यादवले गरेका थिए।

अधिवेशनका लागि तय गरिएको नारा ‘समृद्ध धनुषा, सुखी जनकपुरः तीन तहमा एमाले सरकार’ रहेको छ। सार्वजनिक गरिएको लोगोमा जानकी मन्दिरमाथि उदाउँदै गरेको सूर्य देखाइएको छ, जसलाई एमालेको चुनाव चिह्न मात्र नभई जनकपुरको सांस्कृतिक महत्वप्रतिको सम्मानका रूपमा समेत प्रस्तुत गरिएको महतोले बताइन्।

पूर्वमन्त्रीसमेत रहेकी जुली महतोले भनिन्, “अधिवेशन हाम्रो आफ्नै संगठनिक शक्ति र कार्यकर्ताको सहयोगमा सम्पन्न हुँदैछ, बाह्य सहयोग आवश्यक छैन।” अधिवेशनमा प्रतिनिधिसभा सांसद प्रतिक्षा तिवारी, एमालेका वरिष्ठ नेता सुमन प्याकुरेललगायत नेताहरूको उपस्थिति थियो।

 

अध्यक्ष पदका आकांक्षी सात नेताको चर्चा

आगामी अधिवेशनमार्फत धनुषा जिल्लामा एमालेको नयाँ नेतृत्व चयन गरिनेछ। पत्रकार सम्मेलनमा सहभागी नेताहरूसँग गरिएको संवाद र स्रोतहरूको आधारमा अध्यक्ष पदका लागि सात नेताको नाम विशेष रूपमा चर्चामा आएका छन्। यद्यपि आकांक्षीको संख्या एक दर्जनभन्दा बढी रहेको बताइएको छ।

 

चर्चामा रहेका नेताहरू यस प्रकार छन्:

१. भोला यादव – वर्तमान उपाध्यक्ष, संगठनभित्र बलियो पकड र कार्यकर्तामाझ राम्रो प्रभाव।

२. सन्तोष यादव – प्रदेशसभा चुनावका उम्मेदवार, जनसम्पर्क बलियो र राजनीतिक अनुभवसहित उदाउँदो नेताका रूपमा चिनिन्छन्।

३. शिवशंकर साह ‘हिरा’ – जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार रहिसकेका साह स्थानीय क्षेत्रमा प्रभावशाली मानिन्छन्। तर उनले भने अधिवेशनमा कुनै पनि पदका लागि उम्मेदवार नरहेको प्रष्ट पारिसकेका छन्।

४. सुरेन्द्र भण्डारी – जनकपुर उद्योग व्यवसाय संघका अध्यक्ष, व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्ने नेताका रूपमा उदाएका छन्।

५. लक्ष्मी यादव – पूर्व सचिव, पार्टीमा लामो योगदान र समर्पण।

६. अनिल यादव – मिथिला विहारी नगरपालिकाका पूर्व मेयर, स्थानीय तहमा राम्रो अनुभव।

७. राजकिशोर यादव – वर्तमान अध्यक्ष, निरन्तरताको पक्षमा कार्यकर्ताहरूको समर्थन।

यद्यपि शिवशंकर साह ‘हिरा’ले सार्वजनिक रूपमा उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन्। उनले आफूविरुद्ध अनावश्यक भ्रम फैलाइएको भन्दै स्पष्टिकरण दिएका छन्।

गुटगत समीकरण र युवा–अनुभवबीचको बहस

अध्यक्ष पदका आकांक्षी नेताहरूबीच गुटगत समीकरण निर्माण हुन थालेको संकेत देखिन थालेको छ। कतिपय नेताहरूले अबको नेतृत्वमा युवालाई स्थान दिनुपर्ने तर्क गरिरहेका छन् भने केही नेताहरूले पार्टीमा निरन्तरता र अनुभव भएकालाई प्राथमिकता दिनुपर्ने अडान लिएका छन्।

आन्तरिक छलफलहरूमा नेताहरूबीच गठबन्धनको प्रयास पनि तीव्र रुपमा देखिएको छ। संगठनभित्रको शक्ति सन्तुलन मिलाउने र असन्तुष्ट पक्षहरूलाई समेट्ने रणनीतिमा कतिपय आकांक्षीहरू सक्रिय भएका छन्। ‘ड्यामेज कन्ट्रोल’ र ‘सहमतिको नेतृत्व’ निर्माणको चासो बढिरहेको छ।

अधिवेशनमा करिब १,२०० प्रतिनिधिको सहभागिता रहने बताइएको छ। अधिवेशन शान्तिपूर्ण, भव्य र सुदृढ नेतृत्व चयनमार्फत पार्टीलाई आगामी स्थानीय तथा संघीय चुनावमा सक्षम रूपमा प्रस्तुत गर्न केन्द्रित रहने नेताहरूले बताएका छन्।

धनुषा जिल्लाको यो अधिवेशन एमालेको संगठनिक सुदृढीकरण मात्र नभई मधेस प्रदेशमा पार्टीको रणनीतिक महत्वका हिसाबले पनि निर्णायक बन्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार