जनकपुरधाम, १७ वैशाख — नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिकी सक्रिय सदस्य तथा महिला नेतृ अजिता कुमारी पासमानको असामयिक निधनप्रति नेपाली कांग्रेसले गहिरो शोक व्यक्त गरेको छ। विराटनगरमा उपचारका क्रममा वैशाख १६ गते राति उनको निधन भएको हो। स्व. पासमान जनकपुरधाम उपमहानगरपालिका–१७ की स्थायी बासिन्दा थिइन्।
नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले औपचारिक शोक वक्तव्य जारी गर्दै स्व. पासमानप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। वक्तव्यमा उल्लेख छ, “विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भूमिका निर्वाह गर्दै संगठन निर्माणमा समर्पित रहेकी महिला नेतृको यस अकाल मृत्युले हामी स्तब्ध र मर्माहत भएका छौं।”
पासमानले नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी थिइन्। महिला सशक्तिकरणको पक्षमा दृढ अडान राख्ने नेतृका रूपमा उनले आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्। जिल्ला कार्यसमितिकी सदस्यका रूपमा उनले पार्टीको सांगठनिक विस्तारमा उल्लेखनीय योगदान पुर्याएको जिल्ला समितिले जनाएको छ।
धनुषा कांग्रेसका सभापति योगेन्द्र पजियारले स्व. पासमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने, “स्व. पासमानको निधन केवल उनको परिवारका लागि मात्र नभई समग्र नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति हो। उनीजस्ती समर्पित र संघर्षशील नेतृको अभाव कांग्रेसले सधैँ महसुस गर्नेछ।”
शोकको प्रतीकस्वरूप नेपाली कांग्रेस धनुषाले वैशाख १८ गते बुधबार पार्टी कार्यालय बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। जिल्ला कार्यालय सचिव इन्द्रेश झाले प्रेस विज्ञप्तिमार्फत सबै कार्यकर्ता, शुभेच्छुक तथा सरोकारवालालाई शोकप्रति सम्मान प्रकट गर्न अनुरोध गरेका छन्।
नेपाली कांग्रेसका विभिन्न तहका नेताहरू, कार्यकर्ताहरू तथा सामाजिक अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत स्व. पासमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेका छन्। सामाजिक न्याय, महिला हक, दलित अधिकारजस्ता विषयमा खुलेर बोल्ने नेतृका रूपमा पासमानको छवि रहेको थियो।

उनको निधनले धनुषा जिल्लाको राजनीतिक तथा सामाजिक वृत्तमा शोकको छायाँ छाएको छ। परिवार, पार्टी र समाजका लागि उनी एक प्रेरणादायी पात्र थिइन् भन्ने सन्देशहरू सामाजिक सञ्जालमा व्यापक रूपमा देखिएका छन्।
पार्टीले स्व. पासमानको योगदानको स्मरण गर्दै उनको सपनाहरूलाई निरन्तरता दिने प्रतिवद्धता पनि व्यक्त गरेको छ। कांग्रेसका स्थानीय नेताहरूले आगामी कार्यसूचीहरूमा उनको स्मृतिमा विशेष कार्यक्रमहरू आयोजना गरिने जनाएका छन्।
अजिता कुमारी पासमानको असामयिक निधनप्रति सम्पूर्ण जनकपुरधाम शोकमा डुबेको छ।




प्रतिक्रिया !