सुनिल कुमार साह ,
लोक आवाज , जनकपुरधाम, १६ बैशाख । रतौली युवा क्लबको आयोजनामा तथा ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको प्राविधिक सहयोगमा सञ्चालनमा आएको ‘सुरक्षित आवास परियोजना’ अन्तर्गत बाँससम्बन्धी समुदाय स्तरीय अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम डिभिजन वन कार्यालय जनकपुरधामका वन अधिकृत बेचन ठाकुरको प्रमुख आतिथ्यतामा र क्लब अध्यक्ष मो. साकिर खानको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागीहरूलाई बाँसको वैज्ञानिक खेती, उपचार (ट्रिटमेन्ट), संरक्षण र व्यावहारिक प्रयोगका विषयमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जानकारी दिइयो। वातावरणमैत्री निर्माण सामग्रीको रूपमा बाँसको प्रयोग र त्यसले सुरक्षित आवास निर्माणमा पुर्याउन सक्ने योगदानबारे विस्तृत छलफल गरियो।
प्रमुख अतिथि बेचन ठाकुरले बाँसलाई दीगो विकास र वातावरणीय सन्तुलनसँग जोड्दै भने, “हाम्रो क्षेत्रमा पाइने वनस्पतिको सही सदुपयोग गरेर सुरक्षित र दिगो आवासको सम्भावना बलियो देखिन्छ। बाँस बहुउपयोगी वनस्पति मात्र होइन, स्थानीय रोजगारी सिर्जना गर्ने र निर्माण लागत घटाउने महत्त्वपूर्ण स्रोत पनि हो।” उनले बाँसको वैज्ञानिक खेती र संरक्षणमा वन कार्यालयको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।
कार्यक्रमका अध्यक्ष मो. साकिर खानले बाँसलाई सस्तो, भरपर्दो र सजिलो निर्माण सामग्रीको रूपमा प्रस्तुत गर्दै भने, “हामीले सहि तरिकाले बाँसको प्रयोग गर्न सकेमा सुरक्षित आवास निर्माणमा यसले गेम चेन्जरको भूमिका खेल्न सक्छ। रतौली युवा क्लबले समुदायको हितका लागि यस्तो दीगो र वातावरणमैत्री समाधान अघि सारेको हो।”
कार्यक्रममा सहभागीहरूलाई बाँसमा पाइने प्राकृतिक सुगरको मात्रा र त्यसले निर्माण सामग्रीको टिकाउपनामा पार्ने प्रभावबारे समेत व्यवहारिक जानकारी दिइयो। वन अधिकृत ठाकुरका अनुसार, “यदि बाँसको ट्रिटमेन्ट उपयुक्त तरिकाले गरियो भने, त्यसको आयु ५० वर्षसम्म रहन सक्छ, जुन सुरक्षित आवास निर्माणका लागि अत्यन्तै उपयुक्त हुन्छ।”
कार्यक्रममा रतौली युवा क्लबका सदस्यहरू गुञ्जा कुमारी ठाकुर, निरज कुमार कर्ण, अनिल कुमार साह, वन अधिकृत भुवनेश्वर महतो, साथै साह हेन्प इनोभेन्चर्सका प्रतिनिधि धिरज साह लगायतको सहभागिता रहेको थियो। सहभागीहरूलाई बाँस खेतीप्रतिको व्यवहारिक ज्ञान दिलाउन अन्तरक्रियात्मक शैलीमा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमका सहभागीहरूले समुदाय तहमै बाँसको दीगो प्रयोगलाई विस्तार गर्न निरन्तर अभिमुखिकरण, सीप विकास र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। यस किसिमका कार्यक्रमहरूले दीगो निर्माण समाधानप्रति समुदायलाई सचेत र सक्रिय बनाउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया !