भारतले पाकिस्तानका १६ युट्युब च्यानलमाथि प्रतिबन्ध,

भारतले पाकिस्तानका १६ युट्युब च्यानलमाथि प्रतिबन्ध,

न्यू दिल्ली, वैशाख १५ – पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत सरकारले पाकिस्तानका १६ युट्युब च्यानलहरूमा प्रतिबन्ध लगाएको छ। भारत विरोधी तथा साम्प्रदायिक रूपमा संवेदनशील सामग्री प्रसारण गरेको आरोपमा भारतले ती च्यानलहरूलाई आफ्ना दर्शकहरूका लागि बन्द गराएको हो।

प्रतिबन्धित च्यानलहरूमा डन न्युज, समा टिभी, एआरवाई न्युज, जियो न्युज लगायत पाकिस्तानका ठुला र लोकप्रिय समाचार च्यानलहरू पनि परेका छन्। भारतीय गृह मन्त्रालयको सिफारिसमा यी च्यानलहरूलाई प्रतिबन्ध लगाइएको इन्डियन एक्सप्रेसले जनाएको छ।

भारत सरकारका अनुसार प्रतिबन्धित च्यानलहरूले भारतको एकता, संप्रभुता र सुरक्षालाई असर पार्ने गरी भ्रामक र उत्तेजक सामग्री प्रसारण गर्दै आएका थिए। यी च्यानलहरूका कूल फलोअर संख्या ६ करोड ३० लाखभन्दा बढी रहेको बताइएको छ।

डन न्युज टिभीमा मात्रै १९ लाख ६० हजार फलोअर छन् भने समा टिभीमा एक करोड २७ लाख, एआरवाई न्युजमा एक करोड ४६ लाख, बोल न्युजमा ७८ लाख ५० हजार र जियो न्युजमा एक करोड ८१ लाख फलोअर रहेको विवरण सार्वजनिक भएको छ।

प्रतिबन्धित सूचीमा रफ्तार, पाकिस्तान रेफरेन्स, समा स्पोर्ट्स, जीएनएन, उजैर क्रिकेट, उमर चीमा एक्सक्लुसिभ, अस्मा शिराजी, मुनीब फारूक, सुनो न्युज एचडी र राजी नामा नामक अन्य च्यानलहरू पनि समावेश छन्। अब यी च्यानलहरू भारतमा खोल्न खोज्दा ‘यो कन्टेन्ट राष्ट्रिय सुरक्षा वा सार्वजनिक व्यवस्थासम्बन्धी सरकारी आदेशका कारण उपलब्ध छैन’ भन्ने सन्देश देखिन्छ।

यसका साथै भारत सरकारले बीबीसी इन्डिया, एपी (एसोसिएटेड प्रेस) र रोयटर्सजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूप्रति पनि आपत्ति जनाएको छ। बीबीसीले पहलगाम हमलाका आक्रमणकारीहरूलाई ‘मिलिटेन्ट’ भनेर सम्बोधन गरेको विषयलाई लिएर भारतको विदेश मन्त्रालयमार्फत औपचारिक आपत्ति प्रकट गरिएको छ। सरकार स्रोतका अनुसार आगामी दिनमा यी संस्थाहरूको रिपोर्टिङमा पनि कडा निगरानी राखिने छ।

त्यस्तै, गृह मन्त्रालयले पाकिस्तानका केही वेबसाइटहरू भारतमा युद्धको नाममा रकम संकलन गर्ने प्रयास गरिरहेको भनी आरोप लगाउँदै पछिल्ला चार दिनमा सयौँ युआरएल (URL) हरू बन्द गराएको जनाएको छ। पाकिस्तानमा आधारित ह्याकर समूहहरूबाट साइबर आक्रमण बढ्ने आशङ्कालाई मध्यनजर गर्दै सबै मन्त्रालय र सरकारी निकायहरूलाई आफ्नो साइबर सुरक्षामा कडाइ गर्न निर्देशन दिइएको छ।

पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले थप कडा कदमहरू चालेको छ। पाकिस्तानका नागरिकलाई प्रदान गरिँदै आएको भिसा सेवा अस्थायी रूपमा निलम्बन गरिएको छ। साथै चलचित्रकर्मी, पत्रकार, तीर्थयात्री, व्यवसायी लगायत १४ श्रेणीमा रहेका पाकिस्तानी नागरिकहरूको पहिचान गरी चाँडै भारतबाट फिर्ता पठाउन राज्य सरकारहरूलाई निर्देशन दिइएको बताइएको छ।

भारतको पछिल्लो कडा निर्णयलाई आन्तरिक सुरक्षा सुदृढीकरणका साथै पाकिस्तानप्रति कडा सन्देशको रूपमा हेरिएको छ। संघीय सरकारले राष्ट्रिय सुरक्षाका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार