लोक आवाज ,
काठमाडौँ, वैशाख १५ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुको माग बुधबारसम्म सम्बोधन हुने बताएका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले शिक्षकहरुका समस्या समाधानतर्फ सरकार गम्भीर रहेको बताएका हुन्। उनले विद्यालयमा पठनपाठन सामान्य बनाउन र शिक्षकहरुलाई शिक्षण कार्यमा फर्काउने वातावरण बन्ने विश्वाससमेत व्यक्त गरे।
गत चैत २० गतेदेखि विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने लगायतका माग राख्दै शिक्षकहरु काठमाडौँमा सडक आन्दोलनमा छन्। सरकार र शिक्षक प्रतिनिधिहरूबीच पटकपटक संवाद भए पनि शिक्षकहरुको मुख्य माग सम्बोधन हुन सकेको छैन।
शिक्षकहरुले सरकारले नयाँ विद्यालय शिक्षा विधेयक ल्याइ कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्। सरकारले भने आन्दोलन अन्त्य गरी संवाद र सहमतिबाट समाधान खोज्न आग्रह गर्दै आएको छ।
मन्त्री गुरुङले सरकार शिक्षकहरुको जायज मागप्रति सकारात्मक रहेको बताउँदै अब छिट्टै सहमति हुने स्पष्ट संकेत दिएका छन्। उनले बुधबारसम्म समाधान निस्कने बताउँदा शिक्षक आन्दोलनको दिशा परिवर्तन हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !