–लोकआवाज
जनकपुरधाम, ११ वैशाख । धनुषाको धनौजी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी क्याम्प परिसरमा बाँसबाट निर्माण हुने गोल घेरा प्रतिक्षालयको शिलान्यास गरिएको छ। ह्याबिटेट फर ह्यूमिनिटी नेपाल, रतौली युवा क्लब र धनौजी गाउँपालिकाको साझेदारीमा आयोजना गरिएको प्रारम्भिक अन्तरक्रिया कार्यक्रममार्फत परियोजनाको औपचारिक सुरुवात गरिएको हो।
गाउँपालिका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा वातावरणमैत्री पूर्वाधार विकास, ग्रामीण क्षेत्रमा सामुदायिक सहभागिता र सुरक्षा निकायसँगको सहकार्यका विविध पक्षमा छलफल भयो। अध्यक्ष साहले भने, “अबको विकास प्राकृतिक स्रोतको उपयोग र वातावरणीय सन्तुलनमा आधारित हुनुपर्छ। बाँसबाट निर्माण हुने यो प्रतिक्षालय त्यसको राम्रो उदाहरण हो।”
वडा नम्बर–२ का वडाध्यक्ष रामनारायण यादवले स्थानीय स्वामित्व र सहकार्यलाई बलियो बनाउने यस्ता परियोजनाको आवश्यकता औंल्याउँदै भने, “गाउँको पहिचान र समावेशी शहरीकरणतर्फ यस्ता संरचनाले ठूलो भूमिका खेल्छन्।”
सशस्त्र प्रहरी क्याम्प धनौजीका प्रमुख दीपक कुमार साहले परियोजनाबाट सुरक्षा निकाय र नागरिकबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे। “हामी सुरक्षाका लागि खटिएका छौं, तर नागरिक संरचनाले जनताको पहुँच र आत्मीयता दुवै बढाउँछ,” उनले भने।
प्रतिक्षालयको निर्माण कार्य शाह हेम्प इनोभेन्चरले गर्नेछ, जुन वातावरणमैत्री सामग्री र प्रविधिमा विशेषज्ञता राख्ने कम्पनी हो। स्थानीय स्रोत र सीपको उपयोग गर्दै बनाइने यो संरचना प्रतिक्षा स्थल मात्र नभई आर्थिक सशक्तीकरणको नमुना पनि हुने आयोजकहरूको भनाइ छ।
कार्यक्रममा गाउँपालिकाका इन्जिनियर धिरज कुमार कर्ण, रतौली युवा क्लबका कार्यक्रम संयोजक निरज कुमार सिंह, शाह हेम्प इनोभेन्चरका धिरज कुमार साह, सामाजिक अभियन्ता निवेदिता साहलगायत स्थानीयको उपस्थिति थियो। सहभागीहरूले यस्ता नवप्रवर्तनशील र समावेशी परियोजना गाउँगाउँमा विस्तार हुनुपर्नेमा जोड दिएका थिए।



प्रतिक्रिया !