धनुषामा कक्षा १२ को परीक्षा व्यवस्थित बनाउन प्रशासन सक्रिय, कर्मचारी खटाउने तयारी तीव्र

धनुषामा कक्षा १२ को परीक्षा व्यवस्थित बनाउन प्रशासन सक्रिय, कर्मचारी खटाउने तयारी तीव्र

 

जनकपुरधाम, ९ वैशाख ।   बिहीबारदेखि सुरु हुन गइरहेको कक्षा १२ को राष्ट्रिय परीक्षा धनुषा जिल्लामा शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय सक्रिय रूपमा जुटेको छ। परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न प्रशासनले जिल्लाका सबै सरकारी कार्यालयहरूलाई कर्मचारी विवरण आजै पठाउन निर्देशन दिएको छ।

 

मङ्गलबार सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालद्वारा हस्ताक्षरित सूचनामार्फत प्रशासनले कार्यालयहरूलाई परीक्षा अवधिभर परीक्षा केन्द्रमा खटिन सक्ने कर्मचारीहरूको नामावली तय ढाँचामा उपलब्ध गराउन आग्रह गरेको हो।

 

‘परीक्षामा कर्मचारी खटाउनु पर्ने भएकाले कार्यालयको नियमित सेवा प्रवाहमा अवरोध नहुने गरी कर्मचारीहरूको विवरण तपसिल बमोजिमको ढाँचामा तुरुन्त पठाउन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

 

प्रशासनको समन्वयमा गठन गरिने परीक्षा सञ्चालन समितिले केन्द्रमा सुरक्षाकर्मी, अनुगमन टोली, केन्द्राध्यक्ष, निरीक्षक तथा सहयोगी कर्मचारीहरूको व्यवस्थापन गर्नेछ। यसका लागि प्रत्येक कार्यालयले आफ्ना कर्मचारीमध्येबाट जिम्मेवारी सम्हाल्न सक्ने योग्य व्यक्तिको विवरण पेश गर्नु पर्नेछ।

 

परीक्षा अवधिमा नकल नियन्त्रण, अनुशासित परीक्षा वातावरण कायम गर्नुका साथै परीक्षार्थीको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भएकाले कर्मचारीको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

एक अधिकारीका अनुसार, ‘कर्मचारीको सक्रिय सहयोगबिना परीक्षा व्यवस्थापन असम्भव हुन्छ। त्यसैले ढिलाइ नगरी आवश्यक विवरण संकलन गरी तयारीलाई समयमै टुंगोमा पुर्‍याउने प्रयास भइरहेको छ।’

सूचनासँगै प्रशासनले कर्मचारी विवरण पठाउने ढाँचासमेत सार्वजनिक गरेको छ, जसमा कर्मचारीको नाम, पद, सम्पर्क नम्बर र खटिन सक्ने समय उल्लेख गर्नुपर्नेछ।

 

धनुषा जिल्लामा विभिन्न विद्यालयहरूमा परीक्षा केन्द्र निर्धारण गरिएको छ। यी केन्द्रहरूमा सुरक्षा, अनुशासन र परीक्षाको गोपनीयता कायम राख्न प्रशासन, शिक्षा कार्यालय, प्रहरी र विद्यालय प्रशासनबीच समन्वयात्मक भूमिका आवश्यक हुने बताइएको छ।

 

परीक्षा निष्पक्ष र व्यवस्थित बनाउन कर्मचारी परिचालनदेखि अनुगमनसम्मका सबै तयारी तीव्र बनाइएको प्रशासनले जनाएको छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार