जनकपुरधाम, ९ वैशाख । ‘संघीय लोकतान्त्रिक गणतन्त्रकै माध्यमबाट मात्र समावेशी समृद्धि सम्भव छ,’ नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले जनकपुरमा आयोजित विचार गोष्ठीमा प्रस्ट पारे। स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको आयोजनामा ‘नेपालको समृद्धिमा भारतको भूमिका’ विषयमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक र नीतिगत क्षेत्रका व्यक्तिहरूले नेपाल–भारत सम्बन्ध, संघीयता र समावेशीताबारे धारणा राखेका थिए।
डा. यादवले मधेशी, आदिवासी र जनजातिको सरकारी सेवामा सहभागिता उल्लेखनीय रूपमा बढेको तथ्याङ्क प्रस्तुत गर्दै संघीयता नेपालको ऐतिहासिक संरचनागत सुधार भएको बताए। निजामती सेवामा मात्रै १७ हजार २ सय २८ जना मधेशी, आदिवासी र जनजातिको समावेशी प्रवेश भएको उल्लेख गर्दै उनले चुरे दोहन रोक्न भारतसँग सहकार्यको आवश्यकता औंल्याए।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी अधिकारमाथि ‘भोटे ताल्चा’ लगाएर रोक्न खोजिएको आरोप लगाए। ‘मधेशी, जनजाति र आदिवासी बिना मुलुकको समृद्धि सम्भव छैन,’ उनले भने।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतले पहाडी जनजातिलाई आफ्नो सेनामा भर्ती गर्न रोकेकोप्रति असन्तुष्टि जनाउँदै भारतको योगदान सशक्त बनाउन आग्रह गरे। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भारतबाट आउने लगानी अन्य प्रदेशमा बढी गएको बताउँदै मधेशमैत्री लगानी वातावरण आवश्यक रहेको बताए।
सभामुख रामचन्द्र मण्डलले संघीयतापछि मधेशमा प्रगति भए पनि व्यवहारिक कार्यान्वयनमा चुनौतीहरू रहेको भन्दै तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको बताए। ‘नीति निर्माण मात्र होइन, अब कार्यान्वयनमै पनि निर्णायक बन्नुपर्ने बेला आएको छ,’ उनले भने।
मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले अधिकारको प्रयोगमा अझै आत्मविश्वासको अभाव देखिएको बताए। कानुनी संरचना अझै पुरातन शैलीको भएको भन्दै संघीयताको मर्मअनुसार कानुनी सुधारको खाँचो औंल्याए।
नीति आयोगका पूर्व उपाध्यक्ष डा. भोगेन्द्र झाले भारतबिना नेपालको दीर्घकालीन समृद्धि सम्भव नरहेको बताए। उनले सीमावर्ती क्षेत्रमा पूर्वाधार, कृषि र जल व्यवस्थापनमा सहकार्य आवश्यक रहेको तर्क गरे।
यद्यपि, समावेशिता र लोकतन्त्रको सन्देश दिन आयोजित कार्यक्रममा महिलाको पूर्ण अनुपस्थिति खट्किएको थियो। कार्यक्रममा सहभागी एक दर्जनभन्दा बढी वक्तामध्ये एक जना पनि महिला नहुँदा विभिन्न पक्षले आलोचना गरेका छन्।
कार्यक्रमको प्रारम्भमै कार्यपत्र प्रस्तुत गरेका उद्धव प्याकुरेलले मञ्चमा महिलाको अनुपस्थिति लोकतन्त्रको मूल मर्म विपरीत भएको बताए। उनले मधेशलाई भारत–नेपाल सम्बन्धको ‘निर्णायक सेतु’ को रूपमा व्याख्या गर्दै समानतामा आधारित सहकार्यको खाँचो औंल्याए। ‘महिलाविनाको समृद्धि सम्भव छैन,’ उनले भने।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाका अध्यक्ष अरविन्द महतोले ‘विभिन्न कारण’ ले महिला सहभागी गराउन नसकेको स्वीकार गर्दै आगामी कार्यक्रममा सचेत रहने प्रतिबद्धता जनाए।




प्रतिक्रिया !