लोक आवाज ,
जनकपुरधाम, ०६ बैशाख – धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा युवाहरुलाई स्वरोजगारमा प्रोत्साहन गर्नका लागि विभिन्न पेशागत सामग्रीहरू वितरण गरिएको छ। गाउँपालिकामा सञ्चालित रोजगारीमैत्री (रेमी) परियोजना अन्तर्गत वडा नम्बर ४ र ६ का २४ जनालाई स्वरोजगारका लागि आवश्यक उपकरणहरू प्रदान गरिएको हो।
गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगल तथा विभिन्न वडाका अध्यक्षहरूको रोहबरमा भएको कार्यक्रममा लाभग्राहीहरूलाई फ्रीज, कटर मेसिन, मोटरपम्प, कृषि उपकरण लगायतका सामग्री वितरण गरिएको हो। यस कार्यक्रमले स्थानीय युवालाई आफ्नै गाउँघरमा स्वरोजगार सुरु गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
रेमी परियोजनाका परिवार परामर्शदाता हरिशंकर (सुनिल) पासवानका अनुसार, स्थानीय तहमा रोजगार सिर्जना गर्ने उद्देश्यले २४ जना व्यक्तिलाई व्यवसायिक सामग्री वितरण गरिएको हो। “कसैलाई तरकारी खेतीका लागि मोटर पम्प, कसैलाई फर्निचर व्यापार गर्न कटर मेसिन, त कसैलाई खुद्रा पसल सञ्चालन गर्न फ्रिजजस्ता सामग्री उपलब्ध गराइएको छ,” पासवानले जानकारी दिए।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष सन्तोष गोईत, वडा नं. २ का अध्यक्ष अब्दुल मालिक शेख, वडा नं. ३ का विष्णुदेव साह, वडा नं. ४ का दिलिप यादव, वडा नं. ५ का अशोक मण्डल र वडा नं. ६ का अध्यक्ष सूर्यदेव यादवको उपस्थिति रहेको थियो। उनीहरूले स्वरोजगारको अवसर पाएका लाभग्राहीलाई सफलताको शुभकामना दिँदै यस्ता कार्यक्रमले युवामा आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरे।
वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, रोजगार संयोजक रञ्जय कुमार मरिता, कर्मचारी सुरेन्द्र कुमार यादव लगायत अन्य कर्मचारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
गाउँपालिकाले आगामी दिनहरूमा पनि रोजगारमुखी योजना विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ। अध्यक्ष यादवले भने, “हामी जनशक्ति पलायन हुन नदिई आफ्नै गाउँमै रोजगारीको वातावरण बनाउनेतर्फ प्रतिबद्ध छौँ। यस्ता कार्यक्रमले युवाहरूलाई सीप र स्रोत प्रदान गरेर स्वरोजगारतर्फ उन्मुख गराउनेछन्।”
जनकनन्दिनी गाउँपालिकाले युवालाई आत्मनिर्भर बनाउने अभियानलाई प्राथमिकतामा राखेर रेमी परियोजनाका अन्य कार्यक्रमहरू पनि आगामी दिनमा सञ्चालन गर्ने तयारी गरेको छ।



प्रतिक्रिया !