काठमाडौं, ६ वैशाख । सरकारद्वारा सञ्चालित राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आजदेखि देशभरका पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु भएको छ । वैशाख ६ र ७ गते सञ्चालन हुने यो दुई दिने राष्ट्रिय अभियानले करिब २७ लाख बालबालिकालाई लक्षित गरेको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइनेछ । यस्तै, ६ महिनाभन्दा माथिका बालबालिकालाई पोषणयुक्त ‘बाल भिटा’ आहार दिने कार्यसमेत गरिनेछ ।
यस अभियानमा देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएका छन् । पोषण शाखाका प्रमुख लिला विक्रम थापाका अनुसार ७५३ वटा स्थानीय तहमा बजेट पठाइसकेको छ र स्थानीय तहले स्कुल, स्वास्थ्य चौकी वा अन्य सामुदायिक भवनमार्फत औषधि वितरण गरिरहेका छन् ।
थापाले भिटामिन ‘ए’ को कमी बालबालिकाको समग्र स्वास्थ्यमा गम्भीर असर पार्ने बताए । “भिटामिन ‘ए’ को अभावले रतन्धो, कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दीर्घरोग तथा हड्डीको विकासमा अवरोध उत्पन्न हुन सक्छ,” उनले भने, “पछिल्लो अध्ययनअनुसार पाँच वर्षभन्दा मुनिका ११ प्रतिशत बालबालिकामा भिटामिन ‘ए’ को कमी देखिएको छ, जुन जनस्वास्थ्यको दृष्टिकोणले मध्यम समस्याको संकेत हो ।”
भिटामिन ‘ए’ प्राप्त गर्न सकिने खाद्य स्रोतहरूको प्रयोग अझै पनि न्यून देखिएको थापाको भनाइ छ । उनी भन्छन्, “बालबालिकाले आवश्यक मात्रामा चुकन्दर, साग, ब्रोकाउली, साबुत अन्न, गिरीदार फल, बटर, गाजर, पालक, मटर, फर्सी, माछा, मटन, आँप, डेरी उत्पादनजस्ता पोषक तत्वयुक्त खानेकुरा सेवन गर्न सकेको देखिन्न ।”
भिटामिन ‘ए’ ले आँखाको स्वास्थ्य, छालाको तन्दुरुस्ती, रोगसँग लड्ने शक्ति वृद्धि, घाउ निको पार्ने प्रक्रिया र शारीरिक वृद्धि विकासमा सहयोग पुर्याउँछ । साथै यसले भोजनलाई ऊर्जामा परिवर्तन गर्ने तथा कोषको स्वास्थ्यलाई जोगाउने भूमिका पनि खेल्दछ ।
सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५० सालदेखि सञ्चालन गर्दै आएको हो । जुकाको औषधि खुवाउने कार्य भने २०५६ सालबाट सुरु गरिएको हो ।
प्रत्येक वर्ष दुई चरणमा सञ्चालन हुने यस अभियानअन्तर्गत पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते सञ्चालन हुने गर्दछ ।
स्वास्थ्य मन्त्रालयले अभिभावकहरूलाई नजिकको खोप केन्द्रमा पुगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आह्वान गरेको छ । यसबाट बालबालिकामा हुन सक्ने पोषणसम्बन्धी जटिलता र रोगको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
सरकारको यो प्रयासले देशभर बालस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । स्थानीय तह र स्वास्थ्य संस्थाहरूको सक्रियतासँगै बालबालिकालाई समुचित पोषण सुनिश्चित गर्न अभियान सफल हुने विश्वास गरिएको छ ।



प्रतिक्रिया !