सिरहामा खुला नालामा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु, नगरपालिका र जनप्रतिनिधिको लापरवाहीप्रति जनआक्रोश

सिरहामा खुला नालामा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु, नगरपालिका र जनप्रतिनिधिको लापरवाहीप्रति जनआक्रोश

लोक आवाज ,

सिरहा, ६ वैशाख ।  सिरहाको मिर्चैया नगरपालिका–५ मा शनिबार बिहान भएको एक दर्दनाक दुर्घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ । किसुन साफीकी डेढ वर्षीया छोरी आसिका साफीको खुला नालामा डुबेर मृत्यु भएपछि नगरबासी आक्रोशित भएका छन् ।

 

दुर्घटना शनिबार बिहान करिब ८ बजे भएको बताइएको छ । घर नजिकै खेलिरहेकी बालिका अचानक अधुरो र खुला नालामा खसेपछि खोजी शुरु गरिएको थियो । छिमेकीले नालामा केही देखेपछि तत्काल उद्धार गरिए पनि गम्भीर अवस्थाका कारण बालिकालाई बचाउन सकिएन ।

 

बालिकाको निधनपछि साफी परिवारमा मातम छाएको छ भने सम्पूर्ण टोलवासीमा आक्रोश छाएको छ । स्थानीयवासीहरू मिर्चैया नगरपालिकामाथि ठूला आरोप लगाइरहेका छन् । उनीहरूको भनाइमा नगरपालिकाले नाला निर्माणका नाममा लाखौं रुपैयाँ खर्च गरे पनि आवश्यक सुरक्षात्मक उपायहरू नअपनाएकै कारण यस्तो दुखद घटना भएको हो ।

 

“यसअघि पनि यस्ता दुर्घटनाहरू भएका थिए, तर नगरपालिका बेखबरजस्तै बनेको छ,” एक स्थानीय युवाले भने, “अब पनि नगरले आँखा नखोले आन्दोलन हुन्छ ।”

 

स्थानीयका अनुसार मिर्चैया नगरपालिकाले विभिन्न वडामा नाला निर्माण गरे तापनि अधिकांश नालाहरू ढक्कनविहीन, चेतावनी बोर्डविहीन तथा अपुरो अवस्थामा छन् । यस्तो अवस्थाले विशेषगरी बालबालिका, वृद्धवृद्धा र अपाङ्ग व्यक्तिहरूको जीवनमा जोखिम थपिएको छ ।

 

नालाको अवस्थाले देखाउँछ कि नगरपालिकाको प्राथमिकतामा जनसुरक्षा छैन । धेरै स्थानमा नाला भए तापनि ढल निकासको उचित व्यवस्था, पानीको सतही बहाव व्यवस्थापन, र नालाको वरिपरि चेतावनी चिन्हसमेत नराखिएको स्थानीयहरूको गुनासो छ ।

 

साफी परिवारका अनुसार उनीहरूले बिहानैदेखि हराइरहेकी छोरीको खोजी गरिरहेका थिए । केही समयपछि छिमेकीले नालामा केटी देखेको जानकारी दिएपछि उद्धार गरिएको थियो । तर अस्पताल पु¥याउन नपाउँदै उनको ज्यान गइसकेको थियो ।

 

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखका अनुसार घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ र बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ ।

 

दुर्घटनापछि मिर्चैया नगर क्षेत्रका विभिन्न वडाका बासिन्दाहरू सङ्गठित भई नगरपालिका र जनप्रतिनिधिमाथि दबाब सिर्जना गरिरहेका छन् । उनीहरूले तत्काल सबै खुला नालामा ढक्कन राख्न, जोखिमयुक्त क्षेत्रमा चेतावनी बोर्ड जडान गर्न, र यसप्रकारका दुर्घटनाको जिम्मेवारी लिन माग गरिरहेका छन् ।

 

यस घटनाले स्थानीय तहको लापरवाही र असंवेदनशीलता प्रस्ट पारेको छ । विकासका नाममा ढाँचामात्र देखाएर नागरिकको सुरक्षा बेवास्ता गर्नु नगरपालिकाको गम्भीर लापरवाही हो । बालिकाको निधनले न केवल एउटा परिवारलाई शोकमा डुबाएको छ, यसले नगरप्रशासनको संवेदनशीलताको परीक्षासमेत लिएको छ ।

 

स्थानीयवासीहरूले बालिकालाई न्याय दिलाउन तथा यस्ता दुर्घटनाको दोहोरिन नदिनका लागि तत्काल ठोस कदम चाल्न नगरपालिकालाई चेतावनी दिएका छन् । यदि मागहरू नसुनिए कडा आन्दोलनको तयारीमा रहेको जनाइएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार