लोक आवाज ,
जनकपुरधाम, ६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख १२ गते तय भएको मधुवनी भ्रमणलाई लक्षित गर्दै भारत–नेपाल सीमावर्ती क्षेत्रमा उच्चस्तरीय सुरक्षा सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउने उद्देश्यले नेपाल र भारतका सुरक्षा निकायबीच जयनगरमा एक महत्वपूर्ण सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकमा नेपालतर्फ धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए । भारततर्फबाट मधुवनी जिल्ला प्रशासनका सुरक्षा अधिकारीहरू, प्रहरी तथा अर्धसैनिक बलका प्रतिनिधिहरू बैठकमा सहभागी भएका थिए ।
बैठकमा सहभागी नेपाली अधिकारीहरूका अनुसार प्रधानमन्त्री मोदीको भ्रमणका कारण सीमावर्ती क्षेत्र थप संवेदनशील हुने भएकाले दुवै देशका सुरक्षा संयन्त्रहरूबीच तयारी, समन्वय र जानकारी आदान–प्रदानलाई प्रभावकारी बनाउने सहमति भएको हो । बैठकमा भारतीय पक्षले प्रधानमन्त्रीको भ्रमण शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित बनाउनका लागि सीमा क्षेत्रबाट हुने अवाञ्छित गतिविधिहरू र गैरकानुनी आवत–जावतलाई रोक्न विशेष ध्यान दिन आग्रह गरेका थिए ।
दुवै पक्षका अधिकारीहरूले सीमा क्षेत्रमा विशेष सुरक्षा रणनीति अपनाउने सहमति गरेका छन् । बैठकमा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सीमा सुरक्षा बल (बीएसएफ) बीच संयुक्त गस्ती बढाउने, सीमा नाका तथा भन्सार क्षेत्रमा निगरानी प्रणाली कडा बनाउने तथा यातायातका साधन र यात्रुहरूको कडाइका साथ जाँच गर्ने निर्णय भएको छ ।
साथै, बैठकमा गैरकानुनी हतियार ओसारपसार, लागूपदार्थ कारोबार तथा मानव तस्करी नियन्त्रणमा संयुक्त अपरेसन चलाउने, शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउने र भ्रमण अवधिभर सीमामा विशेष सतर्कता अपनाउने सहमति भएको छ ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन दुवै देशका सुरक्षा निकायहरूबीच प्रत्येक १२ घण्टामा अन्तरसमन्वय बैठक सञ्चालन गर्ने निर्णय पनि बैठकमा गरिएको छ । यसबाहेक, सामान्य नागरिकको सहज आवागमन सुनिश्चित गर्ने तर सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउने कार्यप्रणाली पनि तय गरिएको छ ।
संभावित अप्रिय घटनाबाट बच्नका लागि ‘¥यापिड रिस्पोन्स टिम’ गठन गर्ने र आवश्यकता अनुसार तुरुन्त प्रतिक्रिया दिने व्यवस्था मिलाउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन् ।
नेपाल–भारत सीमामा रहेको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रहरूलाई थप सशक्त बनाउने र आपसी विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यका साथ भएको यो बैठकले आगामी दिनमा सीमावर्ती क्षेत्रको शान्ति र सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया !