सुनिल कुमार सह ,
धनुषा, कमला – १ । कमला नगरपालिका–१ का वडा अध्यक्ष सरददेव यादवले स्थानीय युवा खेलाडीहरूलाई क्रिकेटका ड्रेस, ब्याट र बल वितरण गरेका छन्। उनले खेलकुदलाई स्वास्थ्य तथा व्यक्तित्व विकाससँग जोड्दै युवाहरूलाई गलत बाटोमा जान नदिन सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गर्ने माध्यमको रूपमा खेललाई हेर्नुपर्नेमा जोड दिए।
क्रिकेट सामग्री वितरण कार्यक्रममा अध्यक्ष यादवले भने, “खेलकुद मात्रै होइन, यो स्वास्थ्य, अनुशासन र बौद्धिक विकाससँग जोडिएको क्षेत्र हो। युवाहरूले खेलमा उत्कृष्टता देखाए मात्र होइन, समाजमा सकारात्मक उदाहरण पनि बन्न सक्छन्।”
उनका अनुसार वडा कार्यालयबाट युवा तथा खेलकुदको क्षेत्रमा प्रोत्साहन दिने अभियान अन्तर्गत स्थानीय खेलाडीहरूलाई सहयोग गरिएको हो। “खेल गतिविधिले युवालाई आत्मविश्वासी बनाउँछ र सामाजिक गलत प्रवृत्तिबाट टाढा राख्न सहयोग पुर्याउँछ,” उनले थपे।
अध्यक्ष यादवले स्थानीय युवालाई सम्मानका साथ अघि बढ्न प्रेरित गर्दै भने, “युवाहरू हाम्रो भविष्य हुन्। खेलमार्फत उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकास सम्भव छ। म व्यक्तिगत रूपमा पनि सधैं खेल र खेलाडीहरूको साथमा छु। युवाहरूको यो उर्जा राष्ट्र निर्माणको आधार हो।”

कार्यक्रममा सहभागी युवा खेलाडीहरूले वडा अध्यक्षप्रति आभार व्यक्त गर्दै यस किसिमको सहयोगले आफूहरूलाई अझ जोशका साथ अभ्यास र प्रतिस्पर्धा गर्न हौसला मिलेको प्रतिक्रिया दिए। उनीहरूले आगामी दिनमा वडा तथा नगरपालिका स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता समेत जनाए।
कमला नगरपालिका–१ मा पछिल्ला वर्षहरूमा खेलकुदप्रति चासो र लगाव बढ्दै गएको छ। वडा अध्यक्ष यादवको सक्रियताले खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थपिएको भन्दै स्थानीयले सराहना व्यक्त गरेका छन्।




प्रतिक्रिया !