वीरगञ्जमा साम्प्रदायिक तनाव पुनः चर्कियो, सामाजिक सद्भावमा खलल पुग्ने खतरा

वीरगञ्जमा साम्प्रदायिक तनाव पुनः चर्कियो, सामाजिक सद्भावमा खलल पुग्ने खतरा

लोक आवाज ,

जनकपुरधाम ,०३ बैशाख । हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा उत्पन्न भएको साम्प्रदायिक झडप केही समयका लागि साम्य भए पनि वीरगञ्जमा पुनः तनाव चर्किएको छ। सर्वपक्षीय सहमतिपछि हटाइएको कफ्र्यूको बाबजुद मंगलबार साँझदेखि हिन्दू समुदाय पुनः आन्दोलित बनेका छन्।

 

झडपसँग सम्बन्धित रहेको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएपछि स्थिति फेरि तनावपूर्ण बनेको हो। प्रहरीले सर्वपक्षीय सहमतिविपरीत कार्य गरेको आरोप लगाउँदै हिन्दू समुदायका युवाहरूले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरे। प्रहरीको लाठीचार्जबाट एभिन्युज टेलिभिजनका संवाददाता अर्जुन गुप्ता र अर्का एक पत्रकार घाइते भएका छन्। गुप्ताको टाउकोमा चोट लागेपछि उनी अहिले नारायणी अस्पतालमा उपचाररत छन्।

 

शोभायात्राको क्रममा मस्जिदको छतबाट ढुंगा हानिएको आरोप लगाउँदै हिन्दू पक्षले त्यसमै कारवाही माग गरिरहेको छ। बुधबार बिहानैदेखि परवानीपुर, प्रतिमा चौक र नेशनल ट्रेडिङ क्षेत्र आसपास टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीको बाक्लो उपस्थितिले ती क्षेत्र तनाबग्रस्त बनेका छन्।

 

सीडीओ गणेश आर्यालले सद्भाव कायम राख्न विभिन्न पक्षसँग छलफल थालेका छन्। पर्साका एसपी गौतम मिश्रले सामाजिक सद्भाव बिथोल्ने चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए। उनले भने, “दुवै पक्षका व्यक्तिहरू नियन्त्रणमा लिएका छौं, अहिले पनि स्थिति नियन्त्रणमा ल्याउन प्रयासरत छौं।”

 

स्थानीय प्रशासनले तनाव नियन्त्रणमा ल्याउने प्रयास गरिरहँदा मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह र संघीय खानेपानी मन्त्री प्रदीप यादवले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

 

मुख्यमन्त्री सिंहले समाजमा धार्मिक, साँस्कृतिक र जातीय सहिष्णुतामार्फत मात्रै दीर्घकालीन शान्ति सम्भव हुने भन्दै दोषी जो भए पनि कारवाहीको दायरामा ल्याउन जोड दिएका छन्। त्यस्तै, मन्त्री यादवले वीरगञ्जबासीलाई संयमित रहन आग्रह गर्दै आफू प्रशासन तथा सुरक्षा निकायसँग सम्पर्कमा रहेको र समुदायका अगुवासँग समन्वय गरिरहेको बताएका छन्।

 

दुबै नेताले सबैको साझा प्रयासबाट वीरगञ्ज पुनः शान्त र सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरेका छन्। यद्यपि, अहिलेको अवस्थामा प्रशासनिक सतर्कता र संवाद नै सद्भावको पुनःस्थापनाको प्रमुख आधार बन्ने देखिन्छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार