पर्सा, ०१ बैशाख । वीरगन्ज महानगरको मुख्य सहरी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय पर्साले सोमबारदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। शनिबार राति साढे ७ बजेबाट लागू भएको कर्फ्यु आइतबार राति १२ बजे अन्त्य भएलगत्तै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा आइतबार राति जारी गरिएको सूचनामा, वीरगन्जको पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटभित्रको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख गरिएको छ। यस क्षेत्रमै अघिल्लो दिनहरुमा कर्फ्यु आदेश पनि लागू गरिएको थियो।
प्रशासनले जनाएको अनुसार, शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा अवस्था केही सुधारिएको देखिए पनि पूर्णरूपमा सामान्य नभएकाले भीडभाड तथा संभावित अशान्ति रोक्न निषेधाज्ञा जारी गर्नु परेको हो। आइतबार सर्वपक्षीय बैठकबाट प्राप्त सुझावको आधारमा कर्फ्यु हटाइएको भए पनि निषेधाज्ञा जारी गरी संवेदनशील क्षेत्रको निगरानी कायमै राखिएको हो।
निषेधाज्ञाको आदेशअनुसार अब सोमबारदेखि अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न पाइने छैन। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) अनुसार जारी गरिएको यो आदेशको उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ।
सुरक्षा निकायहरूलाई स्थिति नियन्त्रणमा राख्न अझै तयारी अवस्थामा राखिएको छ। प्रशासनले नागरिकहरूलाई शान्ति, सुव्यवस्था र आपसी समझदारी कायम राख्न आग्रह गरेको छ। यसबीच, स्थानीय प्रशासनले सबै सरोकारवालाहरूसँग निरन्तर समन्वय गर्दै परिस्थितिको नियमित मूल्यांकन भइरहेको जानकारी दिएको छ।



प्रतिक्रिया !