काठमाडौँ, २०८१
नेपाली राजनीतिक इतिहासमा विक्रम संवत २०८१ अत्यन्तै हलचलपूर्ण र बहसले भरिएको वर्षको रूपमा दर्ज भयो। संसदीय इतिहासमै पहिलोपटक मुलुकका दुई प्रमुख दल—नेपाली कांग्रेस र नेकपा एमाले—बीच रातारात भएको सात बुँदे सहमति र त्यसको जगमा बनेको नयाँ सत्ता समीकरणले मुलुकको राजनीति नयाँ मोडमा प्रवेश गरायो।
असार १७ गते मध्यराति व्यवसायी रामेश्वर थापाको चपलीहाइटस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिका आधारमा असार ३० गते ओली प्रधानमन्त्री बने। गोप्य रूपमा भएको सहमतिको विपक्षी दलहरूले आलोचना गरे पनि संसद्को गणितले ओलीलाई सत्तामा पुर्यायो। सहमतिअनुसार २०८२ असारमा देउवा प्रधानमन्त्री बन्ने तयारीमा छन्।
ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट सहमति सार्वजनिक गर्दै सहकार्यको नयाँ युग सुरु भएको बताए पनि सरकारप्रति चाँडै नै निरकुशताको आरोप लाग्न थाल्यो। शासनमा पारदर्शिता र जवाफदेहिता अभाव रहेको भन्दै सरकारप्रति व्यापक असन्तुष्टि देखियो।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दुईपटक पक्राउ परे। कास्की प्रहरीको थुनामा ८० दिन बसेका उनलाई सहकारी रकम अपचलन र ठगी अभियोगमा चैत २२ मा पुनः पक्राउ गरियो। स्वर्णलक्ष्मी, सुप्रिम, सहारा लगायतका सहकारीहरूमार्फत ग्यालेक्सी टिभीमा रकम लगानी गरी अनियमितता गरेको आरोप लाग्यो।
राजावादी र पूर्वपञ्चहरूले चैत १५ गते राजधानीको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु र सयभन्दा बढी घाइते भए। सोही दिन भृकुटीमण्डपमा गणतन्त्र पक्षधर दलहरूको शान्तिपूर्ण सभा पनि भयो। तीनकुने घटनाको नेतृत्व गरेको आरोपमा दुर्गा प्रसाईं चैत २८ मा भारतको आसामबाट पक्राउ परे।
त्यस्तै, वर्षको उत्तरार्द्धमा सरकारद्वारा ल्याइएका ६ अध्यादेशले पनि राजनीतिक बहस चर्कायो। भूमिसम्बन्धी अध्यादेशलाई सत्तापक्षकै दबाबमा सरकारलाई फिर्ता लिनु परे पनि अन्य पाँच अध्यादेश संसद्बाट पारित भए।
२०८१ सालकै अर्को चर्चित निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती रह्यो। चैत १८ को मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्दै घिसिङलाई हटायो। विपक्षी दलहरूको समर्थन र जनदबाबका बाबजुद घिसिङलाई बर्खास्त गर्नु विवादास्पद बन्यो।
यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको सम्भावित राजनीतिक पुनरागमनको चर्चा पनि चलेको थियो। इलाम–२ को उपनिर्वाचनमा सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङको जितले पनि नयाँ राजनीतिक अनुहारको उदय गरायो।
समग्रमा, विक्रम संवत २०८१ नेपालको लागि सत्ता गठबन्धन, राजनीतिक गिरावट, आन्दोलन, गिरफ्तारी र जनआक्रोशको वर्ष बन्यो। सहमतिबाट सुरु भएको यात्रा कति स्थिर र प्रभावकारी बन्ने हो, त्यो भने आगामी वर्षहरूले मात्र देखाउनेछन्।



प्रतिक्रिया !