कुवेतले रोमाञ्चक जितसहित चार देशीय टी–२० सिरिजको उपाधि जित्यो, नेपाल उपविजेता

कुवेतले रोमाञ्चक जितसहित चार देशीय टी–२० सिरिजको उपाधि जित्यो, नेपाल उपविजेता

 

काठमाडौं , ३१ ।  चैत हङकङमा जारी चार देशीय टी–२० क्रिकेट सिरिजको उपाधि कुवेतले जितेको छ। आइतबार भएको फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुवेत पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो। नेपालविरुद्धको यो कुवेतको आधिकारिक फाइनल जित हो।

 

खेल निकै रोमाञ्चक मोडमा पुग्दा अन्तिम समयमै नेपाल पराजित भएको छ। टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। जवाफमा नेपाल १९.३ ओभरमा १७२ रनमै अलआउट हुँदै ३ रनले पराजित भयो।

 

नेपालको सुरुआत अत्यन्तै कमजोर रह्यो। टोलीले ९२ रन जोड्दा ८ विकेट गुमाइसकेको थियो। तर नवौं विकेटका लागि बसिर अहमद र नन्दन यादवबीचको ७२ रनको साझेदारीले नेपाललाई खेलमा पुनः फर्काएको थियो।

 

बसिर अहमदले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छक्कासहित ८० रन बनाए। तर नेपाललाई जितका लागि अन्तिम तीन बलमा चार रन आवश्यक रहेको अवस्थामा उनी क्याच आउट भए। उनी आउट भएपछि नेपालका बाँकी दुई विकेट पनि छिटो गुमे र टिम १७२ रनमै अलआउट भयो।

 

नेपालका लागि नन्दन यादवले पनि उत्कृष्ट प्रदर्शन गर्दै ३७ रनको योगदान दिए। सुरुआती क्रममा ओपनर आसिफ शेखले २१ रन बनाएका थिए। तर, बाँकी कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

 

कुवेतका बलरहरू मध्ये अनुदिप चेनतामराले ३ विकेट लिए भने यसि पटेल र नभिनराज राजेन्द्रनले २–२ विकेट लिए। मोहम्मद सफिक र मोहम्मद अस्लामले १–१ विकेट लिएर नेपाललाई रोके।

 

यसअघि ब्याटिङ गरेको कुवेतका लागि रभिजा सन्दर्वानले उत्कृष्ट प्रदर्शन गर्दै ४२ बलमा ६३ रन बनाए। उनी खेलका ‘टप स्कोरर’ बने। यस्तै क्लिन्टो एन्टोले २६, मिट भावसरले १६, उस्मान पटेलले २३, र कप्तान मोहम्मद अस्लाम १३ रनमा अविजित रहे।

 

कुवेतले पहिलो १० ओभरमा आक्रामक ब्याटिङ गर्दै ११० रन बनाएको थियो तर दोस्रो १० ओभरमा मात्र ६५ रन थप्न सकेको थियो। नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए भने करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए।

 

आजै भएको तेस्रो स्थानको खेलमा हङकङले कतारलाई १ रनले हराउँदै तेस्रो स्थान हात पार्‍यो।

 

नेपालका लागि यो फाइनल हार दुःखद भए पनि बसिर र नन्दनले देखाएको जुझारूपन सकारात्मक पक्षका रूपमा हेरिएको छ। अब नेपाल आगामी प्रतियोगितामा ती कमजोरी सुधारेर अझ बलियो रुपमा फर्कने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार