सत्तामा रहेको जनमत पार्टीकै सरकारविरुद्ध जनमतकै प्रदर्शन, भ्रष्टाचार र भेदभावको आरोप

सत्तामा रहेको जनमत पार्टीकै सरकारविरुद्ध जनमतकै प्रदर्शन, भ्रष्टाचार र भेदभावको आरोप

 

जनकपुरधाम, ३१ चैत —  मधेश प्रदेशमा सत्ताको नेतृत्व गरिरहेको जनमत पार्टीले आइतबार आफ्नै सरकारविरुद्ध जनकपुरधाममा तीव्र विरोध प्रदर्शन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आयोजित प्रदर्शनमा पार्टीका शीर्ष नेतादेखि साधारण कार्यकर्तासम्मको उल्लेखनीय उपस्थिति थियो। उनीहरूले “भ्रष्टाचारविरुद्ध कडा कारबाही” र “विकास योजनामा समानता” को माग गर्दै सरकारमाथि गम्भीर आरोपहरू लगाए।

 

प्रदर्शनमा सहभागीहरूले ‘भ्रष्ट मन्त्रीलाई कारबाही गर’, ‘योजना खरिद–बिक्री बन्द गर’, ‘जनकपुरको सार्वजनिक सम्पत्ति जोगाऊ’, ‘धनुषा–३ मा विभेद बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित मुख्यमन्त्री कार्यालय घेराउ गरेका थिए।

 

जनमत पार्टीका वरिष्ठ नेता डा. प्रशन्नकुमार झाले जनकपुरधाममा सञ्चालित योजनाहरूमा व्यापक अनियमितता भएको आरोप लगाउँदै भने, “हाम्रो पार्टी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको पक्षमा छ। चाहे ती हाम्रै पार्टीका मन्त्री किन नहुन्, जनताको करको पैसा लुट्न दिन्नौं।”

 

उनका अनुसार धनुषा–३ निर्वाचन क्षेत्रलाई योजनागत रूपमा पूर्णरूपमा उपेक्षा गरिएको छ, र पुरक परियोजनाबाट समेत यस क्षेत्रमा बजेट नल्याइएकोले गम्भीर असन्तोष उत्पन्न भएको हो। “विकासका अवसरमा समानता हुनुपर्छ, भेदभाव स्वीकार्य छैन,” उनले स्पष्ट पारे।

 

प्रदर्शनमा ७ बुँदे ज्ञापनपत्र मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाइएको छ। ज्ञापनपत्रमा जनकपुरधामका ऐतिहासिक तथा सार्वजनिक सम्पत्तिहरूको संरक्षण, अतिक्रमणको अन्त्य, योजनाको पारदर्शिता, बजेट वितरणमा न्याय, भ्रष्टाचारमा संलग्न मन्त्रीहरूको राजीनामा र छानबिन आयोग गठनको माग गरिएको छ।

 

एक नेताले भने, “हामी सरकारमा छौं, तर जनताको विश्वास तोडिएको देख्दा चुप बस्न सक्दैनौं। सत्ताको नाममा स्वार्थको खेल भयो भने आन्दोलन हाम्रो बाध्यता हो, विकल्प होइन।”

 

यो आन्दोलनले सत्तारूढ पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा ल्याएको छ भने प्रदेश सरकारको स्थायित्वमाथि पनि प्रश्न उब्जिएको छ। अब प्रदेश सरकारले कसरी जवाफ दिन्छ भन्ने कुराले आगामी दिनको राजनीतिक गतिशीलता तय गर्नेछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार