लोक आवाज ,
जनकपुरधाम , ३० चैत । लोकतान्त्रिक आन्दोलनका एक अग्रणी योद्धा तथा प्रखर गाँधीवादी नेता रामनारायण मिश्रको निधन भएको ५७ वर्षपछि उनको स्मृतिमा जनकपुरधाममा अत्याधुनिक स्मृति भवन निर्माणको तयारी भएको छ । नेपाली कांग्रेसको पहलमा र मधेश प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको यो भवन गंगासागरको पूर्वी डिलमा निर्माण गरिने भएको हो ।
नेता मिश्र २०१५ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको सरकारमा उद्योग मन्त्री थिए । उनले त्यस समय जनकपुरधाममा रोजगारीको अवसर सृजना गर्नका लागि जनकपुर चुरोट कारखाना स्थापना गराएका थिए । त्यसैकारण पनि उनी जनकपुरको औद्योगिक विकासका एक अग्रणी चिन्हका रूपमा चिनिन्छन् । अहिंसाका पुजारी तथा समाजसेवीका रूपमा परिचित मिश्र समाज परिवर्तनका लागि समर्पित थिए ।
नेता मिश्रको अन्त्येष्टि गरिएको गंगासागरको पूर्वी डिलमा निर्माण गरिन लागिएको स्मृति भवन अत्याधुनिक प्रविधियुक्त र आकर्षक हुने बताइएको छ । करिब ५ करोड रुपैयाँभन्दा बढीको लागतमा बन्न लागेको यो भवन १५ फिट अग्लो पिलरमा आधारित हुनेछ । निर्माणको जिम्मा लिएको निकायले आगामी वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
भवन निर्माणसँगै गंगासागर क्षेत्रको स्वरूप परिवर्तन हुने अपेक्षा गरिएको छ । स्मृति भवन भए पनि त्यसमा विभिन्न आधुनिक सुविधाहरू समावेश गरिनेछन् । भवनभित्र वाचनालय (पुस्तकालय), ऐतिहासिक सँग्रहालय, सभा हल तथा बहुउपयोगी कक्षहरू निर्माण गरिने जनाइएको छ । यसले धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा गंगासागरलाई थप आकर्षण दिन सक्ने विश्वास लिइएको छ ।
यद्यपि स्मृति भवन निजी जग्गामा निर्माण गरिँदैछ, यसले गंगासागर जाने बाटोलाई अवरुद्ध गर्ने छैन । योजना अनुसार स्मृति भवनको मुनिबाट डब्बल लेनको कालोपत्रे सडक बनाइनेछ, जसले आवागमनलाई सहज बनाउनेछ । स्मृति भवन भएको स्थान नेता मिश्रको नीजि पैतृक सम्पत्ति भएकाले उनकी परिवारले सहज रूपमा प्रतिष्ठानको नाममा जग्गा हस्तान्तरण गर्न सक्ने जनाइएको छ ।
भवन निर्माणसँगै स्मृति स्थलमा रहेको वर र पिपलको वृक्षहरू यथास्थानमा राख्न सर्वसाधारणले आग्रह गरेका छन् । स्थानीयवासीहरूले ऐतिहासिक र धार्मिक महत्व भएका यस्ता रुखहरूलाई संरक्षण गर्नुपर्ने सुझाव दिएका छन्, जसले पर्यावरणीय सन्तुलन पनि कायम राख्नेछ ।
सामाजिक सञ्जालमा भने ५ करोडभन्दा बढीको बजेट ‘शालिक’ निर्माणका लागि मात्र विनियोजन गरिएको भन्दै केही विरोध देखिएको छ । तर अधिकारीहरूका अनुसार यो बजेट केवल शालिक नभई सुविधासम्पन्न स्मृति भवन निर्माणका लागि विनियोजन गरिएको हो, जसले सर्वसाधारण, विद्यार्थी, शोधकर्ता र पर्यटक सबैलाई लाभ पुर्याउनेछ ।

कांग्रेसका स्थानीय नेताहरूका अनुसार यो भवन केवल श्रद्धाञ्जलिको रुपमा मात्र नभई जनकपुरको सामाजिक, ऐतिहासिक र सांस्कृतिक गरिमालाई उचो बनाउने कार्यको थालनी हो । स्मृति भवन निर्माणसँगै मिश्रको समाधिस्थल रहेको पूर्वी डिल पूर्ण रूपमा सौन्दर्यीकरण हुँदै व्यवस्थित क्षेत्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया !