जसपा नेपाललाई अधिवेशनको चटारो, संगठन विस्तारमा तीव्रता

जसपा नेपाललाई अधिवेशनको चटारो, संगठन विस्तारमा तीव्रता

 

काठमाडौँ ,  ३० चैत ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी संगठन विस्तार र सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ । जिल्ला समिति, भ्रातृसङ्गठन, पेसागत सङ्गठन, जातीय तथा सामुदायिक संगठनको अधिवेशन तथा भेलामा पार्टी व्यस्त बनेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

 

उनका अनुसार हालसम्म केही जिल्ला समितिहरू र भ्रातृसङ्गठनहरूले अधिवेशन सम्पन्न गरिसकेका छन् भने अन्य जिल्लाहरूले कार्यतालिका सार्वजनिक गर्दै अधिवेशनको तयारीमा रहेका छन् । यसै क्रममा जसपा नेपालले रौतहट र पर्सा जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ ।

 

रौतहटको गरुडामा सम्पन्न अधिवेशनमा पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव प्रमुख अतिथि थिए । उक्त अधिवेशनबाट राजीव रञ्जनको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति निर्वाचित भएको छ । त्यसैगरी, पर्सा जिल्लामा आयोजित अधिवेशनमा पार्टी महासचिव तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत प्रमुख वक्ताका रूपमा सहभागी थिए । पर्साको अधिवेशनबाट रामनरेश प्रसाद यादवको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो ।

 

पार्टीले जातीय र सामुदायिक संगठनहरूलाई समेत सशक्त बनाउँदै लैजाने अभियान अन्तर्गत विभिन्न संगठनको गठन र पुनर्गठनलाई प्राथमिकतामा राखेको छ । यसै सन्दर्भमा हालै बालकुमारीमा आयोजित भेलाबाट पञ्चराम तामाङको अध्यक्षतामा समाजवादी तामाङ संघको केन्द्रीय समिति गठन गरिएको हो । उक्त कार्यक्रममा पार्टी उपाध्यक्ष शिबलाल थापा मगरसहितका नेताहरूको उल्लेखनीय उपस्थिति थियो ।

 

त्यस्तै, भ्रातृसङ्गठन समाजवादी विद्यार्थी युनियन नेपालले भैरहवामा सम्पन्न महाधिवेशनबाट मनिस यादवको नेतृत्वमा नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । यस्तै, समाजवादी खस सङ्घ र समाजवादी मगर सङ्घले समेत मातहत समितिको अधिवेशन गर्ने योजनाका लागि आवश्यक तयारी भेला सम्पन्न गरिसकेको जानकारी दिइएको छ ।

 

पार्टीका नेताहरूका अनुसार अधिवेशनमार्फत संगठन सुदृढ पार्ने, नयाँ नेतृत्व उत्पादन गर्ने र आगामी राजनीतिक रणनीतिहरू तय गर्ने लक्ष्यका साथ यो अभियान अघि बढाइएको हो ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार