काठमाडौँ , २७ चैत – गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका क्रममा घाइते भएका व्यक्तिहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने स्पष्ट पारेका छन्। बुधबार सिभिल अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गरेका मन्त्री लेखकले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।
गत चैत्र १५ गतेको विरोध प्रदर्शनका क्रममा विभिन्न व्यक्ति घाइते भएका थिए। ती घाइतेहरूको उपचारमा सरकारको तर्फबाट कुनै कन्जुस्याइँ नहुने भन्दै गृहमन्त्री लेखकले सरकार उपचार खर्चको जिम्मेवारी लिन प्रतिवद्ध रहेको बताए। उनले घाइतेहरूसँगको संवादपछि स्पष्ट रूपमा भने, “सरकारले पहिले नै घाइतेहरूको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरिसकेको छ। आज म यहाँ आएको पनि यही सुनिश्चित गर्नका लागि हो कि सबैले निःशुल्क उपचार पाइरहेका छन् कि छैनन्।”
अस्पतालमा उपचाररत बिरामीहरूका परिवारले बाहिरबाट औषधि किन्नुपर्ने बाध्यता उल्लेख गरेका थिए। त्यस सम्बन्धमा गृहमन्त्री लेखकले स्पष्ट पारे, “हाल केही औषधि बाहिरबाट ल्याउनुपरेको भए पनि त्यसको बिल अस्पतालमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाएपछि सरकारले त्यसको क्षतिपूर्ति गर्नेछ। कसैले व्यक्तिगत रूपमा खर्च गरेको भए पनि, त्यो खर्च अस्पतालले प्रमाणित गरिदिएमा सरकारले त्यो रकम भुक्तानी गर्छ।”
उनले थपे, “यदि बिरामीले औषधि वा उपचारमा व्यक्तिगत खर्च गरेका छन् भने पनि त्यस्तो खर्चको बिल अस्पतालले सम्बन्धित मन्त्रालयमा पठाउँछ र सरकार त्यसको भुक्तानी गर्छ। त्यसका लागि घाइते वा उनका परिवारले प्रमाणसहितको भौचर दिनुपर्ने हुन्छ।”
घाइतेहरूका आफन्तहरूले उपचारपछिको अवस्थाबारे चिन्ता व्यक्त गर्दा गृहमन्त्री लेखकले त्यसबारे पनि सरकार गम्भीर रूपमा सोचिरहेको बताए। उनले घाइतेहरूको पुनःस्थापना, परामर्श, आर्थिक सहयोगलगायतका दीर्घकालीन योजनाहरूको तयारी भइरहेको जानकारी दिए।
उनले आश्वस्त पार्दै भने, “हामी घाइतेहरूको मात्र होइन, उनीहरूको परिवारको अवस्था पनि विचार गरिरहेका छौँ। उपचारपछिको जीवनमा उनीहरूले कसरी सहज जीवनयापन गर्न सकून् भन्नेबारे योजना बनाउन सुरु गरिसकेका छौँ।”
घाइतेहरूसँगको सो भेटघाटमा गृहमन्त्रीसँगै अस्पताल प्रशासन, चिकित्सकहरू, सुरक्षाकर्मीहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो। मन्त्री लेखकको यो भ्रमणले घटनामा पीडित भएकाहरूलाई राहतको अनुभूति गराएको छ।
सरकारको यस्तो कदमले आपतकालीन अवस्थामा नागरिकको जीवन र सुरक्षाप्रति संवेदनशील रहेको प्रमाणित गरेको टिप्पणी गरिँदैछ। अब पीडितहरूलाई छिटो र सम्पूर्ण राहत मिल्ने विश्वास समेत व्यक्त गरिएको छ।




प्रतिक्रिया !