धनुषामा सिँचाई दिवस २०८१ मनाइयो, किसानलाई सिँचाई योजना माग गर्न आग्रह

धनुषामा सिँचाई दिवस २०८१ मनाइयो, किसानलाई सिँचाई योजना माग गर्न आग्रह

सुनिल कुमार साह 

जनकपुरधाम,  २५ चैत ।    धनुषा जिल्लाको कञ्चनवनमा सिँचाई दिवस २०८१ हर्षोल्लासका साथ मनाइयो। लक्ष्मिनिया गाउँपालिका-३ कञ्चनवनस्थित गजरिया विग्घी उपभोक्ता सिंचाई आयोजना द्वारा आयोजित यस दिवसमा मधेश प्रदेश सरकारको उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले किसानहरूको सक्रिय सहभागिता सुनिश्चित गरेको थियो।

 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्वखानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहसचिव महेन्द्र यादव, प्रदेश सरकारका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव, प्रदेश सभा सदस्य कुमरकान्त झा, मन्त्रालयका सचिव रामकुमार खंग लगायतका प्रमुख नेता र कर्मचारीहरूको उपस्थिति थियो। साथै, सो क्षेत्रमा दर्जनौं किसानहरूको सहभागिता पनि थियो।

 

कार्यक्रमको एक महत्वपूर्ण अंशको रूपमा नहरको मरम्मत कार्यको उद्घाटन गरियो। प्रमुख र विशिष्ट अतिथिहरूले मिलेर कोदालो चलाएर नहरको मर्मत सम्भार कार्यको विधिवत शुरुआत गरे। यस मर्मत सम्भार कार्यले सिंचाई सुविधामा सुधार ल्याउने र किसानहरूको उत्पादन क्षमता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री महेन्द्र यादवले किसानहरूलाई सिँचाईका लागि आवश्यक योजना तयार गरी प्रदेश सरकारसँग माग गर्न आग्रह गरेका छन्। उनले किसानहरूको मर्मत सम्भार र सिँचाईको आवश्यकताहरूलाई ध्यानमा राख्दै योजनाबद्ध रूपमा अघि बढ्नका लागि राज्यको तत्परता आवश्यक रहेको बताउनुभयो।

यस अवसरमा पूर्वमन्त्री महेन्द्र यादवले धनुषा जिल्लामा बासमति चामलको अन्तर्राष्ट्रिय माग वृद्धि भएको कुरा उल्लेख गर्दै, यस क्षेत्रलाई बासमति चामलको पकेट क्षेत्रको रूपमा विकास गर्ने दिशा निर्देश दिए। यसका लागि अतिरिक्त ध्यान र संसाधनहरूको आवश्यकता रहेको र यसका माध्यमबाट कृषिमा थप लाभ लिन सकिने धारणा प्रस्तुत गरे।

सिँचाई दिवसका अवसरमा आयोजित यस कार्यक्रमले किसानहरूको सिँचाई व्यवस्थामा सुधारको महत्त्वलाई उजागर गरेको छ र भविष्यमा यस प्रकारका आयोजनाहरूले कृषिमा थप उत्पादन र समृद्धि ल्याउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार