सुनिल कुमार साह ,
लोक आवाज , जनकपुरधाम, २५ चैत । मधेश प्रदेश सरकारले ल्याएको स्वास्थ्य सेवा ऐन, २०८१ विरुद्ध प्रदेशभरका स्वास्थ्यकर्मीहरू अनिश्चितकालीन धर्नामा बसेका छन्। उनीहरूले आफूहरूको वृत्ति विकासमा गम्भीर असर पार्ने प्रावधान राखिएको भन्दै ऐनमा संशोधन गर्न प्रदेश सरकारसँग अनुरोध गरेका छन्।
यस ऐनको विरोधमा स्वास्थ्यकर्मीहरू आजदेखि जनकपुरधाममा आन्दोलनको शुरुवात गरेका हुन्। धर्ना जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नजिकै रेल्वे लिकको दक्षिणपट्टि मुख्य सडकमा भइरहेको छ। आन्दोलनको नेतृत्व सिनियर अहेव र सिनियर अनमी चौथो तथा पाँचौँ तह संघर्ष समिति मधेश प्रदेशले गरिरहेको छ।
संघर्ष समितिका प्रदेश संयोजक मोहन साहका अनुसार, “हामीले पटकपटक ऐनको संशोधनको माग गरेका थियौं, तर प्रदेश सरकारले त्यसमा कुनै ध्यान दिएको छैन। हामीले आफ्नो माग उठाउन विभिन्न चरणमा संवाद पनि गरेका थियौं, तर बेवास्ता गर्दा अन्ततः हामीलाई मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बस्न बाध्य पारेको छ।”
स्वास्थ्यकर्मीहरूले यस ऐनका केही प्रावधानलाई स्वास्थ्य सेवा प्रदायकहरूको पेशागत वृत्ति र अधिकारको हनन गर्ने गरी राखिएको भन्दै विरोध जनाएका छन्। खासगरी, उनीहरूको तर्क छ कि ऐनले स्वास्थ्यकर्मीहरूको कार्यको दायरा, जिम्मेवारी र अवसरलाई संकुचित बनाउँछ। यसले स्वास्थ्य क्षेत्रको गुणस्तर र दक्षतामा नकरात्मक असर पार्न सक्छ।
आन्दोलनमा संलग्न स्वास्थ्यकर्मीहरूको भनाइ छ कि सरकारले तिनका मागको उपेक्षा गरेर ऐनलाई यथावत राख्ने निर्णय गरेको छ भने प्रदेशभरका स्वास्थ्यकर्मीहरू आन्दोलनको तीव्रता बढाउने चेतावनी दिएका छन्। उनीहरूको मुख्य उद्देश्य प्रदेश सरकारसँग तत्काल ऐनमा संशोधनको लागि दबाव सिर्जना गर्नु हो, जसले स्वास्थ्यकर्मीहरूको सशक्तिकरण र वृत्ति विकासमा मद्दत पुर्याउनेछ।
आन्दोलनका सहभागीहरूको संख्या अहिले लगातार बढ्दै गएको छ र यसले जनकपुरधामको यातायातमा केही असुविधा उत्पन्न गरेको छ। स्वास्थ्यकर्मीहरूले भनेका छन् कि यदि सरकारले तिनका माग नमान्दा आगामी दिनहरूमा यो आन्दोलन अझै चर्को हुने सम्भावना छ।
यसैबीच, प्रदेश सरकारको तर्फबाट ऐनको विवादास्पद प्रावधानमा कुनै स्पष्ट प्रतिक्रिया भने सार्वजनिक गरिएको छैन।




प्रतिक्रिया !