जनमत र नागरिक उन्मुक्ति एकीकरण नजिक, ‘नागरिक जनमत पार्टी’ बन्ने तयारी

जनमत र नागरिक उन्मुक्ति एकीकरण नजिक, ‘नागरिक जनमत पार्टी’ बन्ने तयारी

 

काठमाडौं , २४ चैत —  जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच बहुप्रतीक्षित पार्टी एकीकरण प्रक्रिया निर्णायक चरणमा पुगेको छ। दुई दलबीचको एकता प्रयास अन्तर्गत हाल बर्दियामा बैठक जारी रहेको छ, जहाँ एकताको खाका तयार पारिएको र सहमतिको अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन्।

 

आइतबारदेखि जारी बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नाउपाका संरक्षक रेशम चौधरी स्वयं उपस्थित भएर कार्यदलले तयार पारेको एकता प्रस्तावमा छलफल गरिरहेका छन्। दुवै दलका कार्यदलले संयुक्त खाका तयार पारेका थिए, जसको आधारमा अन्तिम निर्णय गरिन लागेको हो।

 

जनमतका प्रवक्ता तथा कार्यदल सदस्य डा. शरदसिंह यादवका अनुसार, बर्दियामा भइरहेको बैठक सकारात्मक ढंगले अघि बढिरहेको छ। “हामी सहमतिको नजिक छौं। अब टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुको हो,” उनले भने।

 

एकीकृत पार्टीको नेतृत्व संरचना र कार्यशैलीका विषयमा समेत स्पष्ट धारणा बनिरहेको छ। एक प्रस्ताव अनुसार, एकतापछि पार्टीको अध्यक्ष डा. सीके राउत हुने, सहअध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी रहने गरी छलफल अघि बढाइएको छ। अर्काे प्रस्ताव अनुसार भने दुई अध्यक्ष प्रणाली अपनाउने तयारी पनि गरिएको छ। उक्त प्रणालीमा डा. राउत कार्यकारी अधिकार सहितका अध्यक्ष हुनेछन् भने श्रेष्ठ दोस्रो वरियताकी अध्यक्ष हुने प्रस्तावमा छलफल भइरहेको छ।

 

नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले एकता प्रक्रिया जनताको साझा हितका लागि भएको बताउँदै नयाँ पार्टीको उद्देश्य शान्ति, न्याय र समानताको आधारमा राजनीति गर्नु रहेको जनाइन्। रेशम चौधरीले पनि यो एकता आन्दोलनको नयाँ चरण हुने विश्वास व्यक्त गरेका छन्।

 

एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने प्रस्तावमा समेत दुवै पक्ष सहमत हुँदै गएका छन्। त्यस्तै, नाउपाको वर्तमान चुनाव चिह्न ‘ढकिया’ राख्ने विषयमा पनि सहमति बनिरहेको बताइएको छ। जनमत पार्टीले ढकियालाई सहज रूपमा स्वीकार गर्न तयार रहेको जानकारी प्रवक्ता यादवले दिएका छन्।

 

यस एकताबाट मधेस केन्द्रित दुई ठूला राजनीतिक धारहरू एउटै छातामुनि आउन लागेका छन्, जसले भविष्यको राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। विश्लेषकहरूका अनुसार, सीके राउत र रेशम चौधरी जस्ता प्रभावशाली नेताहरूको सहकार्यले नयाँ राजनीतिक शक्ति निर्माण हुने सम्भावना बलियो बनेको छ।

 

यद्यपि, केही संगठनात्मक विषय र पद बाँडफाँटको सन्दर्भमा थप छलफल आवश्यक रहेको नेताहरूले बताएका छन्। बैठकको औपचारिक निष्कर्ष आउने बित्तिकै सार्वजनिक घोषणा गरिने जनाइएको छ।

 

यो एकता सफल भएमा मधेस क्षेत्रको राजनीतिक वृत्तमा ठूला फेरबदल ल्याउने र केन्द्रमा समेत नयाँ राजनीतिक समीकरण बनाउने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार