जनकपुरधाम, २४ चैत । धनुषा जिल्लाको मिथिला नगरपालिका–१०, लालगढस्थित धनौजी खानेपानी आयोजना कार्यालय परिसरमा आइतबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब ९ बजे नजिकै रहेको वन क्षेत्रबाट फैलिएको आगोले कार्यालयमा ठूलो क्षति पुर्याएको जनाइएको छ।
प्राप्त जानकारीअनुसार, आगलागीले कार्यालयमा सञ्चित पाइपलगायतका विभिन्न सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। खानेपानी विस्तारको उद्देश्यले भण्डारण गरिएको सम्पूर्ण पाइप आगलागीमा परेर नष्ट भएको वडाध्यक्ष सविनविक्रम थापाले जानकारी दिए। प्रारम्भिक अनुमानअनुसार, आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी र दमकल टोलीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीले आसपासको क्षेत्रमा समेत त्रास फैलिएको थियो भने समयमा आगो नियन्त्रणमा नलिइएको भए अझ ठूलो क्षति हुन सक्ने स्थानीयले बताएका छन्।
लालगढ प्रहरी चौकीका अनुसार, आगलागीको कारण अझै यकिन भइसकेको छैन र यथार्थ मूल्याङ्कनका लागि थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा वन क्षेत्रबाट सुरु भएको आगो कार्यालयसम्म फैलिएको देखिए पनि यसमा मानवीय लापरवाही वा अन्य कारण जोडिएको छ कि भनेर छानबिन भइरहेको जनाइएको छ।
स्थानीय निकायले आगलागी पीडित कार्यालयको पुनःस्थापनाका लागि आवश्यक पहल गरिने बताएको छ। यस घटनाले वन क्षेत्र र मानव बस्तीबीचको सुरक्षा व्यवस्थामा पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको छ।




प्रतिक्रिया !