जनकपुरधाम २३ चैत । सुड़ी समाज महासंघ नेपालको तेस्रो साधारण सभा जनकपुरधामको धर्मसंस्था सभाकक्षमा परमेश्वर महासेठको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसदीय दलकी नेता तथा विधायक कञ्चन विचार उपस्थित थिइन्।
प्रमुख अतिथि कञ्चन विचारले कार्यक्रममा बोल्दै समाजको विकासका लागि आपसी भेदभाव र राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले समाजमा व्याप्त दाइजो प्रथा, अन्धविश्वास र अशिक्षा जस्ता समस्याहरूलाई हटाउन जनचेतना जगाउनुपर्ने बताइन्।
अध्यक्ष परमेश्वर महासेठले नेपालमा सुड़ी जातिको गौरवशाली इतिहास रहेको र मधेशमा शिक्षा, स्वास्थ्य, धर्मशाला, सराय र खानेपानीका लागि ताल र पोखरी निर्माणको महत्वबारे चर्चा गरे। उनले रामसागर राम स्वरूप साहको कीर्ति नेपालमा सधैं सम्झनु पर्ने कुरा उल्लेख गरे। साथै, उनले सुड़ी जातिका अन्य उपजातिहरूसँग समन्वय गरेर समाज र राजनीति मा उच्च स्थान हासिल गर्ने आवश्यकतामा जोड दिएका छन्।
साधारण सभामा संविधानसभा सदस्य शैलकुमारी महतो, पूर्वमन्त्री सुरिता साह, विधायक अनिता साह, जनकपुरधामका मेयर मनोजकुमार साह, लोसपा नेता पूर्व विधायक परमेश्वर साह लगायतका महत्वपूर्ण व्यक्तित्वहरूको सहभागिता थियो।
सो अवसरमा महासंघले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्यो र नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गर्यो। सभा समापनपछि, समाज सुधार र प्रगतिको दिशा निर्धारणका लागि नयाँ पहलका साथ अगाडि बढ्ने प्रतिवद्धता जनाइएको थियो।




प्रतिक्रिया !