जनकपुरमा अस्पतालमा तोडफोड र हुलहुज्जत, डा. राउतले कानुनी कारवाहीको चेतावनी

जनकपुरमा अस्पतालमा तोडफोड र हुलहुज्जत, डा. राउतले कानुनी कारवाहीको चेतावनी

 

जनकपुरधाम, २३ चैत ।  जनकपुर न्युरो अस्पतालका सञ्चालक डा. विजयकुमार राउतले अस्पतालमा भएको तोडफोड र हुलहुज्जतको घटनाको भत्र्सना गर्दै कानुनी उपचार खोज्ने बताएका छन्। शनिबार बिहान पत्रकार सम्मेलनमा डा. राउतले भने, “यो घटनालाई केवल अस्पतालमाथिको आक्रमणको रुपमा नभई सम्पूर्ण जनकपुरधामका नागरिकहरूसँग भएको प्रत्यक्ष आक्रमणको रुपमा लिइन्छ।”

 

चैत १ गते धनुषाको मालटोलमा भएको बस दुर्घटनामा घाइते भएका बिरामीहरूको उपचारमा कुनै कसर बाँकी नराखी अस्पतालले सेवा दिएको डा. राउतले बताए। उक्त दुर्घटनामा धनलक्ष्मी ट्राभल्सको ना ५ ख १४४१ नम्बरको बसमा सवार करिब ४२ जना यात्रु घाइते भएका थिए। उपचारपछि धेरैजसो बिरामी घर फर्किएका थिए भने केही अझै अस्पतालमा उपचाररत छन्।

 

डा. राउतका अनुसार, “सुरुमा बस व्यवसायी संघले सम्पूर्ण उपचार खर्च बेहोर्ने लिखित र मौखिक प्रतिवद्धता जनाएको थियो, तर उपचारको क्रममा बिरामीहरू निको हुँदै गएपछि अन्तिम समयमा बस व्यवसायी समूहका केही व्यक्तिहरू अस्पतालमा दबाव बनाए र खर्च नतिरी बिरामीहरूलाई जबरजस्ती डिस्चार्ज गराउन थाले।”

 

उनले आरोप लगाए कि शुक्रबार साँझ बस व्यवसायी समूहका व्यक्तिहरू अस्पताल परिसरमा प्रवेश गरी हुलहुज्जत गरे र तोडफोड गरे। डा. राउतले भने, “यो घटनाले जनकपुरधामको सम्मानलाई दाग लागेको छ। मैले यो अस्पताल जनकपुरधामको माया र स्नेहका कारण खोलेको थिए, तर यसरी व्यवहार पाउँदा मलाई दुःख लाग्छ।”

 

डा. राउतले यो घटना अस्पतालमाथि मात्र नभई सम्पूर्ण जनकपुरवासीको इज्जतमा आक्रमण भएको बताए। उनले थपे, “हामीले पटकपटक बस व्यवसायी संघसँग सम्पर्क गर्न खोज्यौं, तर उनीहरूले फोन उठाएनन् र मोबाइल स्विच अफ गरिदिए।”

 

अस्पताल प्रशासनले अब कानुनी प्रक्रिया अनुसार कारवाही अघि बढाउने योजना बनाएको र बस व्यवसायीहरूसँग भएको सहमति र छलफलका सबै प्रमाण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। डा. राउतले सबै सरोकारवालालाई जनकपुरधामको संवेदनशील र सांस्कृतिक महत्त्वको ध्यान राखेर जिम्मेवार बन्न आह्वान गरेका छन्।

 

अस्पतालका प्रमुख डा. राउतले स्पष्ट पारे, “अब हामी कानुनी सहारा लिने छौं। शान्तिपूर्ण रूपमा सेवा दिइरहेका थियौं, तर यस्ता अमानवीय आक्रमणको पछि कानुनी प्रक्रिया सुरु गर्नेछौं।”

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार