जनकपुरधाम, २२ चैत — मधेश प्रदेशमा लामो समयदेखि जारी राजनीतिक गतिरोध अन्त्यको दिशामा अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने निश्चित भएको छ। शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले उक्त निर्णयलाई औपचारिकता दिएको हो।
नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा पूर्वमन्त्री युवराज भट्टराईले बैठकपछि जानकारी दिँदै भने, “प्रधानमन्त्रीको सम्बोधनले संघीयता सुदृढ गर्न तथा संघ–प्रदेशबीचको सम्बन्ध अझ मजबुत बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।”
योजना चिठी अनियमितता र कमिसनसम्बन्धी आरोपले केही हप्तादेखि अवरुद्ध हुँदै आएको मधेश प्रदेश सभा हालै मात्र तीन बुँदे सहमतिपछि पुनः सञ्चालनमा फर्किन लागेको हो। जसपा नेपाल र माओवादी केन्द्रले योजनाको चिठी अनधिकृत रूपमा वितरण गरिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए।
प्रधानमन्त्री ओलीको सम्बोधनमा प्रदेशका समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीबारे धारणा राखिने र संघीय सरकारको भावी कार्यदिशाबारे अवगत गराइने अपेक्षा गरिएको छ। मधेश प्रदेश सरकारले प्रधानमन्त्रीको आगमनलाई विशेष महत्व दिँदै सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारीमा जुटेको छ।
प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक हुने विश्वास गरिएको छ, किनकि यसले केवल राजनीतिक संवादलाई मात्र होइन, प्रदेश र संघबीचको सहकार्यलाई पनि नयाँ ऊर्जा दिने संकेत गरेको छ।




प्रतिक्रिया !