जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साह ६ महिनाका लागि निलम्बन, पार्टीभित्र गुटबन्दी र असहमति झन् चुलियो

जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साह ६ महिनाका लागि निलम्बन, पार्टीभित्र गुटबन्दी र असहमति झन् चुलियो

 

जनकपुरधाम, २२ चैत —  जनमत पार्टीले आफ्ना उपाध्यक्ष तथा अनुशासन समिति संयोजक दीपककुमार साहलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ। पार्टीले महोत्तरीको बर्दिबासमा बस्न लागेको केन्द्रीय समितिको बैठकअघि साहलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर, उनले बुझाएको स्पष्टीकरणलाई असन्तोषजनक ठहर गर्दै निलम्बनको निर्णय गरिएको हो।

 

पार्टीको निर्णयअनुसार साहमाथि संगठनभित्रको जिम्मेवारी अनुसार भूमिका ननिभाएको, पार्टी अध्यक्ष डा. सीके राउतविरुद्ध गुटगत गतिविधि सञ्चालन गरेको, र पार्टीको आन्तरिक निर्णयको उल्लंघन गरेको आरोप लगाइएको छ।

 

तर, साहले आफूमाथि लगाइएका सबै आरोपलाई अस्वीकार गर्दै ती तथ्यहीन र निराधार रहेको दाबी गरेका छन्। उनले भने, “पार्टीले आरोप पुष्टि गर्ने कुनै प्रमाण पेस गर्न सकेको छैन। म पार्टीभित्र स्वस्थ बहस र आन्तरिक लोकतन्त्रको पक्षमा उभिएको कारण निलम्बित भएको हुँ।”

 

साहको निलम्बनसँगै जनमत पार्टीभित्र लामो समयदेखि चल्दै आएको असहमति र गुटगत मनोवृत्तिको चर्चा थप चुलिएको छ। अध्यक्ष सीके राउत नेतृत्वमा पार्टी सुदृढ गर्ने प्रयास भइरहेकै समयमा आएको यो निर्णयले आन्तरिक मतभेदलाई सतहमा ल्याएको छ।

 

पार्टीको आगामी कार्यदिशा र संगठनात्मक एकता यस निर्णयपछि कस्तो मोड लिन्छ भन्ने चासो बढेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, यस्ता निलम्बन घटनाले पार्टीभित्र नेतृत्वप्रति विश्वासको संकट उत्पन्न हुन सक्ने जोखिम रहन्छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार