लोक आवाज
जनकपुरधाम १६ चैत – पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा भएको आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले विरोध ¥याली निकालेको छ। यस ¥यालीमा पत्रकारहरुले पत्रकार रजकको हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रेस स्वतन्त्रतामाथिको आक्रमणलाई निस्तेज पार्न दबाब दिएका छन्।
विरोध ¥याली नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यालयबाट सुरु भएको थियो। ¥यालीमा सहभागी पत्रकारहरुले ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर,’ ‘प्रेस स्वतन्त्रता कायम गर,’ ‘आन्दोलनको नाममा पत्रकार मार्न पाइदैन,’ ‘मिडिया हाउसमा तोडफोड गर्न पाइदैन’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए।
¥याली भैरव चोक, राम चोक, जनक चोक, शिवचोक हुँदै भानुचोक पुगेर पुनः जनक चोकमा आइ कोणसभामा परिणत भएको थियो। कोणसभामा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले पत्रकार रजकको हत्या प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताए। उनले सञ्चारगृहमा भएको तोडफोडको क्षतिपूर्ति माग गर्दै पत्रकार रजकलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका थिए।
गुप्ताले भने, “हामी चैत १६ गते स्थापना दिवस मनाउने उत्साहमा हुनु पर्नेमा दुःखद रूपमा शोकमा डुबेका छौं।” उनले आन्दोलनकारीहरु पत्रकार र मिडिया हाउसलाई लक्षित गरेर हिंसा मचाउँदै गरेको आरोप लगाउँदै सम्पूर्ण पत्रकारलाई गोलबद्ध हुन अपिल गरे।
¥यालीमा सहभागी दुई दर्जनभन्दा बढी पत्रकारहरुले महासंघको भवन अगाडि एक मिनेट मौनधारण गर्दै दिवंगत पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। पत्रकार महासंघले सरकारसँग पत्रकार र मिडिया हाउसको सुरक्षामा विशेष ध्यान दिनको लागि आग्रह गर्दै, प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने आवश्यकताको जोड दिएको छ।
सुरेश रजकको हत्या र मिडिया हाउसमा भएको आगजनी घटनाले पत्रकारिताको सुरक्षा र प्रेस स्वतन्त्रताको क्षेत्रमा गम्भीर चुनौती ल्याएको भन्दै पत्रकार महासंघले आन्दोलनलाई जारी राख्ने चेतावनी दिएको छ।




प्रतिक्रिया !