काठमाडौंमा राजावादी आन्दोलनमा प्रहरीसँगको झडप, ७ घाइतेको उपचार जारी

काठमाडौंमा राजावादी आन्दोलनमा प्रहरीसँगको झडप, ७ घाइतेको उपचार जारी

 

काठमाडौं १५ चैत –  शुक्रबार तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा प्रहरीसँग भएको झडपमा परी घाइते भएका ७ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्राप्त जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा ५ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २ जना घाइतेको उपचार भइरहेको छ।

 

त्रिभुवन शिक्षण अस्पतालका डा. मोहनचन्द्र रेग्मीका अनुसार पाँच जना घाइतेको उपचार भइरहेको छ, जसमा सबैको कम्मर मुनिको भागमा गोली लागेको छ। उनीहरूको अवस्था स्थिर रहेको डा. रेग्मीले जानकारी दिए। यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा दुई जना घाइतेको उपचार भइरहेको छ। ट्रमा सेन्टरका निर्देशक बद्री रिजालका अनुसार पेटमा गोली लागेका एक जनाको अवस्था चिन्ताजनक छ र उनको आकस्मिक शल्यक्रिया भइरहेको छ। अर्का एक जनाको कुममा गोली लागेको छ र उनको अवस्था सामान्य रहेको बताइएको छ।

 

तीनकुनेमा शुक्रबार आयोजित राजावादीहरूको सभामा प्रहरीसँगको झडपपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोस्न खोज्दा झडप चर्किएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको देखिन्छ। प्रहरीसँगको झडपका क्रममा प्रदर्शनकारीहरूले निजी घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा समेत तोडफोड र आगजनी गरेका थिए।

 

विशेष गरी कोटेश्वर क्षेत्रका विभिन्न स्थानमा आगजनी र लुटपाटका घटना पनि भएका छन्। कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी गरिएको छ भने भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाटसमेत भएको थियो। प्रदर्शनकारीहरूले सरकारी सम्पत्ति र निजी भवनहरूमा समेत आक्रमण गरेका छन्।

 

तीनकुनेमा भएको राजावादीहरूको सभामा सहभागी हुने भनिएका विभिन्न र्‍यालीहरू बीचमै भड्किएर झडपमा परिणत भएका थिए। यसले गर्दा शुक्रबारका लागि तय भएको सभा बिथोलिएको थियो।

 

नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको यो आन्दोलनमा दुर्गा प्रसाईंको पनि मुख्य भूमिका रहेको बताइएको छ। प्रदर्शनकारीहरूलाई परिचालन गर्ने जिम्मा प्रसाईंलाई दिइएको थियो। आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि साथ दिएको छ।

 

झडप र हिंसात्मक घटनाका कारण जनजीवन प्रभावित भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको जनाएको छ भने आन्दोलनकारीहरूले भने आफ्नो आन्दोलनलाई जारी राख्ने चेतावनी दिएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार