जनकपुरधामका धार्मिक सम्पदाको अस्तित्व संकटमा, मन्दिरका जग्गाहरू धमाधम बिक्री हुँदै

जनकपुरधामका धार्मिक सम्पदाको अस्तित्व संकटमा, मन्दिरका जग्गाहरू धमाधम बिक्री हुँदै

लोक आवाज 

जनकपुरधाम  १५ चैत –  ५२ कुट्टि र ७२ कुण्डको नामले प्रख्यात जनकपुरधामका धार्मिक, ऐतिहासिक तथा पौराणिक सम्पदाहरूको अस्तित्व संकटमा पर्दै गएको छ। विभिन्न मन्दिरका महन्थ, पुजारीहरूका स्वार्थी क्रियाकलाप तथा भूमाफिया र स्थानीय नेताहरूको संलग्नताले गर्दा यी सम्पदाहरू दिन प्रतिदिन अतिक्रमणको सिकार भइरहेका छन्।

 

जनकपुरधाम भित्रका प्रमुख पोखरीहरू – अमृत कुण्ड, जनक सरोवर, बलदेव सर, गोपाल सर, धोबीयाही पोखरी, पापमोचनी सर, र पयश्विनी सर जस्ता दर्जनौं पोखरीहरूको अस्तित्व धमाधम लोप हुँदै गइरहेको छ। यी धार्मिक सम्पत्तिहरूको संरक्षण गर्नुपर्ने जिम्मेवारहरूले नै व्यक्तिगत फाइदाका लागि सार्वजनिक सम्पत्ति दोहन गरिरहेका छन्। गुठी र कुट्टिका जग्गाहरू पनि अतिक्रमणको चपेटामा परेका छन्।

 

विगतमा केन्द्र सरकारले जनकपुरधामका पोखरीहरूको सौन्दर्यीकरणका लागि २ सय करोड रुपैयाँ प्रदान गरेको भए पनि हालसम्म कुनै पनि पोखरीको सुधार र संरक्षणका लागि काम भएको छैन। पैसा कहाँ गयो भन्ने प्रश्न अझै अनुत्तरित छ, र कुनै लेखाजोखा पनि सार्वजनिक भएको छैन। यसबारे जिम्मेवार निकायहरूले चासो नदेखाउँदा धार्मिक सम्पदाको संरक्षणको अवस्था झनै खराब हुँदै गइरहेको छ।

 

अहिले जनकपुरधामका मन्दिरका महन्थ र पुजारीहरूले करोडौं मूल्यका जग्गाहरू कौडीको भाउमा बिक्री गरिरहेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित विजय राघव कुञ्ज मन्दिरका पुजारी राम सागर दासले मन्दिरको नाममा रहेको ६ कट्ठा ५ धुर ३ कनमा जग्गा नेपाली कांग्रेसका मधेश प्रदेशसभा सदस्य जंगीलाल राय यादवलाई वार्षिक ४० किलो धान बुझाउने सर्तमा बेचेको रहस्य खुलेको छ। पुजारी दासले २२ लाख रुपैयाँमा सो जग्गा २०६८ सालमै सांसद यादवलाई बेचेको स्वीकारेका छन्।

 

पुजारी दासले उक्त जग्गा व्यक्तिगत सम्पत्ति भएको र आफूले मनखप (लीज) को कागज बनाएर बेचेको दाबी गरेका छन्। उनले भने, “यो मेरो व्यक्तिगत सम्पत्ति हो। म चाहन्छु भने जसलाई पनि बेच्न सक्छु, अरू कसैलाई चासो हुनु हुँदैन।” उनले मन्दिरका ५ बिग्हा जग्गामध्ये करिब २४ कट्ठा जग्गा यसरी नै बेचेको बताए।

 

सांसद यादवका छोरा अमित यादवले अहिले सो जग्गामा घर निर्माण गरिरहेका छन्। स्थानीय बासिन्दाहरूले नेता यादवले लाठी बलमा गुण्डाहरूको सहयोगमा जग्गामा माटो पुर्न लगाएको आरोप लगाएका छन्। यसबारे अख्तियारमा निवेदनसमेत दिइएको छ।

 

अमित यादवले भने आफूले उक्त जग्गा लीजमा लिएको र २०७३ सालमै नक्सा पास गराएर पर्खाल निर्माण गरिरहेको बताए। तर, स्थानीय बासिन्दाहरूले मन्दिरका सम्पत्तिको दोहन रोक्न र धार्मिक सम्पदाको संरक्षण गर्न सम्बन्धित निकायहरूलाई ध्यान दिन आग्रह गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार