जनकपुरधाम, १३ चैत – धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव शैक्षिक सुधार, कर्मचारी व्यवस्थापन र सरसफाइ सुधारको माग गर्दै ४४ दिनदेखि धर्नामा बसेका छन्। नगरपालिकाको लापरवाही र प्रशासनिक असक्षमताको विरोधमा भएको यो धर्ना अहिले नगरपालिकाको राजनीतिक असफलताको प्रतीक बनेको छ।
वडाध्यक्ष यादवले माघ २८ गतेदेखि निरन्तर नगरपालिकाको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन्। उनले बारम्बार नगर प्रमुख कारीराम यादवलाई शिक्षक अभाव, कर्मचारी व्यवस्थापन र सरसफाइको समस्या समाधानको लागि पत्राचार गरे पनि कुनै प्रकारको प्रतिक्रिया प्राप्त नगरेको आरोप लगाएका छन्। यादवका अनुसार, पाँच नगरसभा र २० भन्दा बढी कार्यपालिका बैठकमा यी मुद्दाहरू उठ्दा पनि नगरपालिकाले कुनै कदम नचालेको गुनासो गरेका छन्।
शिक्षक अभावले विद्यालयको पठन–पाठन ठप्प भएको उल्लेख गर्दै यादवले ७० भन्दा बढी शिक्षकको कमी रहेको बताए। यसले मधेश प्रदेशका विद्यार्थीहरूको भविष्य जोखिममा परेको उनले दावी गरेका छन्।
यादवले वडा कार्यालयमा कम्प्युटर अपरेटरको अभावले नागरिकहरूलाई सेवा लिन कठिनाइ भइरहेको र यो प्रशासनिक असक्षमताको उदाहरण भएको बताए। साथै, सामाजिक सुरक्षाभत्ता वितरण प्रणालीमा सुधार गर्दै प्रत्येक वडामा पुगेर भत्ता वितरण गर्ने र राष्ट्रिय परिचयपत्र गाउँमै वितरण गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
सबैला नगरपालिका–९ का वडाध्यक्ष मनिषकुमार रायले यादवको मागलाई समर्थन गर्दै आफूले पनि माग पूरा नभए वडा कार्यालय बन्द गरेर धर्नामा बस्ने चेतावनी दिएका छन्।
वडाध्यक्ष यादवको आन्दोलनले नगरपालिकाको बेवास्ता र जनविरोधी प्रवृत्तिलाई उदाङ्गो पारेको आरोप लगाइएको छ।



प्रतिक्रिया !