चुरे क्षेत्रको संरक्षणका लागि पुनः आन्दोलनको घोषणा, जनजागरण र धर्ना कार्यक्रम गर्ने

चुरे क्षेत्रको संरक्षणका लागि पुनः आन्दोलनको घोषणा, जनजागरण र धर्ना कार्यक्रम गर्ने

लोक आवाज ,

जनकपुरधाम, १० चैत ।  चुरे र वनजंगल संरक्षण अभियानले चुरे क्षेत्रको वन विनाश रोक्नका लागि पुनः आन्दोलनको घोषणा गरेको छ। अभियानले आज जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रमहरूको जानकारी सार्वजनिक गरेको छ।

 

अभियानका केन्द्रीय संयोजक सुनिलकुमार यादवले चैत १५ देखि २० गतेसम्म चुरे क्षेत्रको वनजंगल विनाशबाट प्रत्यक्ष प्रभावित क्षेत्रहरूमा जनजागरण यात्रा सञ्चालन गरिने बताउँदै यस यात्रामा बर्दिबास, सिन्धुली, निजगढ, लालबन्दी, बागमती, चितवन र इटहरी जस्ता स्थानहरूमा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए। यस कार्यक्रमको उद्देश्य चुरे क्षेत्रमा भइरहेको विनाशको विरुद्ध जनचेतना फैलाउने र सरकारको ध्यान आकर्षित गर्नु हो।

 

चैत २४ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा संसद भवन अगाडि अनिश्चितकालीन विरोध कार्यक्रम सुरु गर्ने निर्णय पनि पत्रकार सम्मेलनमा घोषणा गरिएको छ। यस विरोध कार्यक्रमको उद्देश्य चुरे क्षेत्रको वन विनाशलाई रोक्न र दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब सिर्जना गर्नु रहेको यादवले बताए। उनले भने, “यस विरोधले चुरे क्षेत्रको संरक्षणको आवश्यकताबारे सरकारलाई स्पष्ट सन्देश दिनेछ।”

 

अभियानले आफ्नो राष्ट्रिय सम्मेलनमा केन्द्रीय अध्यक्षको रुपमा पुनः सुनिलकुमार यादव (बारा)लाई सर्वसम्मत रूपमा चयन गरेको छ भने उपाध्यक्षमा सुक्रिती आर्चाय (भक्तपुर) र राजेश भण्डारी (सर्लाही) चयन भएका छन्। महासचिवको रुपमा बासुदेव डल्लाकोटी (धादिङ) चयन भएका छन्, जबकि सचिव पद हालका लागि खाली राखिएको छ। कोषाध्यक्षमा नन्दकिशोर राम (रौतहट) चयन भएका छन् र २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको छ।

 

अभियानको प्रवक्तामा प्रमोद कुमार साह र प्रेस सल्लाहकारमा दीपक कुमार कर्ण चयन भएका छन्। महासचिव बासुदेव डल्लाकोटीको नेतृत्वमा प्रदेश तथा जिल्ला समितिहरूलाई जेष्ठ मसान्तभित्र गठन गर्ने निर्णय पनि सार्वजनिक गरिएको छ।

 

चुरे क्षेत्रको संरक्षणका लागि अभियान विगतदेखि संघर्षरत रहेको छ। यसपटकको आन्दोलन भने अझ सशक्त र व्यापक बनाइनेछ, जसले सरकारलाई चुरे क्षेत्रको दीर्घकालीन संरक्षणको लागि उचित कदम चाल्न दबाब दिने उद्देश्य राखेको छ। चुरे क्षेत्रको वन विनाशको मुद्दामा जनजागरण र सरकारी दबाब सशक्त बनाउनका लागि अभियानले दीर्घकालीन समाधान खोज्ने उद्देश्य राखेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार