सुनिल कुमार साह ,
लोक आवाज ,काठमाडौं , ०४ चैत । नेकपा एमालेले राजतन्त्र पुनःस्थापनाको प्रयास सफल नहुने निष्कर्ष निकाल्दै विशेष प्रस्ताव पारित गरेको छ। आइतबार पार्टीको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको थियो। उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले पारित गरेको विशेष प्रस्ताव सार्वजनिक गरे।
प्रस्तावमा भनिएको छ, “विगतका आन्दोलनका क्रममा गरिएका सहमतिहरू विपरीत राजतन्त्रले पटक-पटक जनताका अधिकारमाथि आक्रमण गर्दै सर्वसत्तावादी प्रवृत्ति देखाएको छ। राजतन्त्र र लोकतन्त्र सँगै अघि बढ्न सक्दैनन् भन्ने निष्कर्षका साथ संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको हो। जनताको यस ऐतिहासिक निर्णय उल्ट्याउने र देशलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन।”
ज्ञवालीले गणतन्त्र र संविधानप्रति भइरहेका पछिल्ला घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए। उनले भने, “केही समययता गणतन्त्र र नेपालको संविधानप्रति सुनियोजित ढंगले भइरहेको आक्रमणप्रति पार्टी सतर्क छ। लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षको परिणाम हो, जसलाई उल्ट्याउने प्रयास कुनै पनि हालतमा सफल हुने छैन।”
एमालेको विशेष प्रस्तावले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयासप्रति कडा विरोध जनाएको छ। पार्टीले संविधानको रक्षा, कानुनी शासनको प्रवर्द्धन, र जनताको अधिकार संरक्षणलाई आफ्नो सर्वोच्च प्राथमिकता बनाउने पनि बताएको छ।
यस क्रममा पार्टीले आफ्नो संगठनात्मक संरचनालाई अझ सुदृढ बनाउन र देशभर जनचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया !