लोक आवाज ,
भैरहवा, २७ फागुन। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मधेशले कोशीलाई १६५ रनले पराजित गर्दै शानदार जित हासिल गरेको छ। मङ्गलबार सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा सम्पन्न खेलमा मधेशले २८५ रनको विशाल लक्ष्य दिएको कोशीको टिम ३३ ओभरमै ११९ रनमा अलआउट भयो।
कोशीका लागि शकिब हकले २५ रन र सुजन थपलियाले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै प्रभाव पार्न सकेनन्। मधेशका बलर रूपेश सिंहले ५ विकेट हात पार्दै खेलमा निर्णायक भूमिका खेले। राजेश यादवले ३ विकेट लिए भने हरिशङ्कर साह र प्रदीप पासवानले १-१ विकेट लिएर मधेशको जित सुनिश्चित गरे।
यसअघि, मधेशले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २८४ रनको मजबुत स्कोर बनाएको थियो। पवन सरार्फले ८५ बलमा ११ चौका र २ छक्कासहित ९२ रनको उत्कृष्ट पारी खेले। अनिल साहले ७५ बलमा १० चौकासहित ७५ रन बनाउँदा दीपेश दासले ५६ रनको योगदान दिए, जसमा उनले ६० बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए।
कोशीका बलर विपिन महतो र प्रकाश केसीले २-२ विकेट लिए भने फिर्दोश अन्सारी र दीपेश कँडेलले १-१ विकेट लिए। मधेशले यो जितसँगै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै अगाडि बढेको छ।




प्रतिक्रिया !