लोक आवाज ,
जनकपुरधाम, फागुन २४ – जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारले आफ्नै निजी लगानीमा सो वडाका युवाहरुलाई लक्षित गर्दै निःशुल्क कम्प्युटर कक्षा संचालन गर्ने घोषणा गरेका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर ३(२) का सभापति समेत रहेका पजियारले युवाहरुलाई प्रविधिसँग जोड्नका लागि तीन महिने र छ महिने कम्प्युटर तालिमको व्यवस्था गर्ने बताएका छन्।
यो तालिम १४ देखि ३५ वर्ष उमेर समूहका कम्तीमा कक्षा ९ पास गरेका युवाहरुलाई लक्षित गरिएको छ। इच्छुक युवाहरुका लागि चैत १२ गतेसम्म दर्ता खुला गरिएको छ। हाललाई वडा नम्बर १६ मा मात्र सीमित यो कार्यक्रमलाई भविष्यमा अन्य वडाहरुसम्म विस्तार गर्ने वडाध्यक्ष पजियारले प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, उनले इलेक्ट्रिसियन, प्लम्बर तालिम र महिलाहरुका लागि उद्यमसम्बन्धी तालिम पनि सञ्चालन गर्ने योजना रहेको बताए। यसले स्थानीय युवाहरुलाई स्वरोजगारको अवसर प्रदान गर्दै उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन मद्दत पुर्याउने विश्वास लिइएको छ।

तालिमको उद्घाटन र प्रमुख अतिथिको भनाइ
वडास्तरीय निःशुल्क कम्प्युटर कक्षाको उद्घाटन नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निधिले युवाहरुलाई प्रविधिमैत्री बनाउन यस्ता तालिमहरू महत्वपूर्ण रहेको बताए। उनले प्रविधिको सही उपयोगले देशको आर्थिक, सामाजिक र व्यक्तिगत विकासमा टेवा पुग्ने भन्दै यस्ता कार्यक्रमहरूले भ्रष्टाचार न्यूनीकरणमा समेत भूमिका खेल्न सक्ने धारणा व्यक्त गरे।

विशेष अतिथिहरूको उपस्थिति
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, राष्ट्रिय मुक्ति पार्टीका संजय चौधरी, कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोज साहलगायत विभिन्न समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
वडाध्यक्ष पजियारले युवाहरुलाई डिजिटल युगसँग समायोजन गर्न, उनीहरुको सीप विकास गर्न र प्रविधिको प्रयोगमार्फत रोजगारीको अवसरहरु सृजना गर्न यो तालिमको व्यवस्था गरिएको बताए। कार्यक्रमले स्थानीय युवाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !