माओवादी केन्द्रले ‘तराई–मधेस जागरण अभियान’ स्थगित, राजावादी गतिविधिलाई चुनौती दिन संसदीय मोर्चामा ध्यान

माओवादी केन्द्रले ‘तराई–मधेस जागरण अभियान’ स्थगित, राजावादी गतिविधिलाई चुनौती दिन संसदीय मोर्चामा ध्यान

लोक आवाज ,

काठमाडौँ २४ फागुन  –  नेकपा माओवादी केन्द्रले फागुन महिनाभर सञ्चालन गरिने ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ केही समयका लागि स्थगित गर्ने निर्णय गरेको छ। पार्टीभित्रको एक नेताका अनुसार, राजावादी गतिविधिहरू तीव्र रुपमा बढिरहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै संसदीय र अन्य मोर्चाहरूमा पार्टीलाई थप सक्रिय राख्न अभियानलाई स्थगित गरिएको हो।

 

अभियान अन्तर्गत शनिबार रौतहटमा एक कार्यक्रम सम्पन्न भएको थियो, जसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू सहभागी थिए। तर, यसपछि तय गरिएका सबै कार्यक्रमहरूलाई केही समयका लागि स्थगित गरिने निर्णय भएको छ। पार्टीले प्रतिगामी शक्तिहरूको गतिविधिलाई रोक्न संसदीय मोर्चामा ध्यान दिने तयारी गरेको छ।

 

पूर्वनिर्धारित कार्यक्रमअनुसार, माओवादीले बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ मा अभियान सञ्चालन गर्ने योजना बनाएको थियो। यस्तै, नवलपुरमा चैत्र २, परासीमा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ मा कार्यक्रम गर्ने योजना थियो।

 

त्यस्तै, कैलालीमा चैत्र ११ र कञ्चनपुरमा चैत्र १२ मा अभियान सम्पन्न गर्ने माओवादीको योजना थियो। तर, यी सबै कार्यक्रमहरू हालका लागि स्थगित गरिएका छन्, र मिति पुनः निर्धारण गर्ने काम छिट्टै माओवादीको केन्द्रीय कार्यालयबाट तय गरिनेछ।

 

माओवादी केन्द्रले फागुन १२ गते झापाबाट अभियानको सुरु गरेका थिए। अभियानका गतिविधिहरूमा जनसभा, चोकसभा, अन्तक्र्रिया, र जनभेटघाटजस्ता कार्यक्रमहरू रहेका थिए।

 

हालैका दिनमा राजावादी गतिविधिहरू तीव्र हुँदै गएको अवस्थामा आइतबार राजावादीहरूले पोखराबाट काठमाडौँ फर्किने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्ने तयारी गरिरहेका छन्। माओवादीले यस्ता गतिविधिलाई चुनौती दिने उद्देश्यले संसदीय मोर्चामा आफ्नो ध्यान केन्द्रित गर्न अभियानलाई स्थगित गरेको हो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार