गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई १ वर्ष कैद छुट दिन अदालतको आदेश

गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई १ वर्ष कैद छुट दिन अदालतको आदेश

काठमाडौं २३ फागुन ।  गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) को कैद सजायमा २० प्रतिशत छुट हुने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार गुरुङले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिने आदेश दिएको हो।

 

यो आदेश अनुसार मनाङेको पाँच वर्षको कैद सजायमा एक वर्ष घट्नेछ। उनले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै निवेदन दिएका थिए। सो ऐनमा अन्तिम फैसला भएको ६० दिनभित्र आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ।

 

मनाङेलाई तरबार प्रहारको घटनामा दोषी ठहर गरी पाँच वर्षको कैद सजाय सुनाइएको थियो, जहाँ चक्रे मिलन भनिने मिलन गुरुङको हात काटिएको थियो। सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै गुरुङलाई दोषी ठहर गरेको थियो।

 

घटनालगत्तै पक्राउ परेका मनाङेले २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका छन्। अब उनलाई १६ महिना मात्रै कैद भुक्तान गर्नुपर्नेछ, जसका लागि उनले २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका थिए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार