चैत ७ गतेदेखि सुरू हुने एसईई परीक्षामा ५ लाख २२ हजार विद्यार्थीहरु सहभागी हुने ,

चैत ७ गतेदेखि सुरू हुने एसईई परीक्षामा ५ लाख २२ हजार विद्यार्थीहरु  सहभागी हुने ,

काठमाडौं, २२ फागुन  –  आगामी ७ चैतदेखि सुरू हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा देशभरबाट ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले यसबारे जानकारी दिएका हुन्। उनले नियमिततर्फ ४ लाख ६८ हजार विद्यार्थीले परीक्षा फारम भरेको बताए भने ग्रेड वृद्धिका लागि ५० हजार विद्यार्थी (२०८०) र पुराना ग्रेड वृद्धिका लागि ४ हजार विद्यार्थी (२०७८–०७९) ले परीक्षा फारम भरेका छन्।

 

एसईई परीक्षा सञ्चालनका लागि देशभर २ हजार १ सय ३१ परीक्षा केन्द्र तोकिएका छन्। तर, केही परीक्षा केन्द्र थपघट हुन सक्ने सम्भावना रहेको निमित्त परीक्षा नियन्त्रक ज्ञवालीले जानकारी दिए। परीक्षाका लागि प्रश्नपत्र छपाइको काम धमाधम भइरहेको छ। जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइ भइरहेको र यस कामको निगरानीमा परीक्षा नियन्त्रक नन्दलाल पौडेल प्रश्नपत्र छपाइस्थलमै उपस्थित रहेको पनि जानकारी गराइएको छ।

 

प्रश्नपत्रको सुरक्षा र गोपनीयताको लागि विशेष सतर्कता अपनाइएको छ। परीक्षा नियन्त्रक पौडेल स्वयं प्रश्नपत्र छपाइस्थलमा रहेर प्रश्नपत्रको सुरक्षा सुनिश्चित गर्न जुटिरहेका छन्। ‘प्रश्नपत्रको सुरक्षा र गोपनीयताको लागि नन्दलाल सर छपाइस्थलमै बस्नु भएको हो,’ निमित्त नियन्त्रक ज्ञवालीले भने।

 

प्रश्नपत्र बनाउँदा प्रदेश–प्रदेशमा कार्यशालाका क्रममा संकलित प्रश्नहरुलाई छनोट गरी तयार पारिएको छ। प्रश्नपत्र छपाइ केन्द्र स्तरमा भएपनि बाँकी व्यवस्थापनको जिम्मेवारी प्रदेश र जिल्लाहरुले सम्हाल्नेछन्। प्रत्येक जिल्लामा परीक्षा समन्वय समितिहरूले परीक्षा केन्द्रको व्यवस्थापन गर्नेछन्। यी समितिहरूका अध्यक्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी रहनेछन् भने सदस्य सचिव जिल्ला शिक्षा इकाइका प्रमुख र सुरक्षा निकायका प्रमुख रहने छन्।

 

देशभरका परीक्षा केन्द्रहरूमा प्रश्नपत्र पुर्याउने काम पनि सुरु भइसकेको छ। सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रश्नपत्र पुगिसकेको छ भने अन्य प्रदेशमा पनि छिट्टै प्रश्नपत्र पुर्याउने काम भइरहेको छ। सबै जिल्लामा २७–२८ गतेसम्म प्रश्नपत्र पुगिसक्ने जानकारी दिइएको छ। उत्तरपुस्तिका भने सम्बन्धित प्रदेशले छपाइ गरेर परीक्षा केन्द्रमा पठाउने व्यवस्था गरिएको छ।

सुरक्षा र अनुगमनको व्यवस्था

परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थापनको जिम्मा जिल्ला सुरक्षा निकायले लिनेछ भने गृह मन्त्रालयमार्फत यसमा विशेष निगरानी गरिनेछ। परीक्षाको समयमा हुल बनाएर अनुगमन गर्न रोक लगाइएको छ, तर आवश्यकताको आधारमा जिल्लास्तरीय परीक्षा समन्वय समितिहरूले व्यवस्थापन गर्नेछन्।

 

एसईई परीक्षाको समग्र व्यवस्थापनलाई चित्तबुझ्दो बनाउन र परीक्षार्थीहरूलाई सहज वातावरणमा परीक्षा दिनका लागि राष्ट्रिय परीक्षा बोर्डले विशेष सावधानी अपनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार