जनकपुरधाम , २० फागुन । जनकपुरधामको अन्जनी स्विटमा फागुन १९ गते GSMA-Mobile for Development र इसेवा निमिटेडको सहकार्यमा एकदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । इसेवाको तर्फबाट डिजिटल वित्तीय साक्षरता, लगानी, र ठगीबाट जोगिने तरिकाहरूको बारेमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो। साथै, इसेवाका प्रतिनिधिहरूले स्थानीय एजेन्टहरूलाई यसबारे जनचेतना फैलाउने महत्वबारे पनि प्रशिक्षण दिए।
इसेवाको प्रशिक्षणमा प्रमुख विषयवस्तु डिजिटल वित्तीय सेवा प्रयोग गर्दा हुने जोखिमहरू, ठगीबाट जोगिने उपायहरू, र सुरक्षित लगानीका उपायहरू थिए। प्रशिक्षकहरूले विशेष रूपमा ग्रामीण क्षेत्रका एजेन्टहरूलाई वित्तीय ठगीका घटनाहरू बढिरहेको अवस्थामा कसरि सजग रहन र ग्राहकहरूलाई सुरक्षित रहनका लागि के गर्नुपर्ने भन्ने सन्दर्भमा जानकारी दिएका थिए।
यस कार्यक्रमको अर्को महत्त्वपूर्ण पाटो GSMA को तर्फबाट आर्थिकगरीक प्रतिनिधी दिनानाथ भण्डारीले प्राकृतिक प्रकोपका बेला इसेवा एजेन्टहरूको भूमिका र उनीहरूले कसरी सामुदायिक सुरक्षा र आपतकालीन सेवाहरूमा योगदान दिन सक्छन् भन्ने विषयमा प्रशिक्षण दिएका थिए। उनले विशेष गरी प्राकृतिक प्रकोपको समयमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न इसेवाका एजेन्टहरूको महत्त्वपूर्ण भूमिका हुने कुरा उल्लेख गरे।
इसेवाले यस प्रशिक्षण मार्फत मधेश प्रदेशमा स्थानीय स्तरमा वित्तीय साक्षरता बढाउने प्रयासलाई निरन्तरता दिएको छ। जनकपुर शाखाले यस किसिमका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ।
जनकपुर शाखाका प्रमुख सुदर्शन दाहालले मधेश प्रदेशमा वित्तीय साक्षरता र जनचेतना वृद्धिमा इसेवाको सक्रियता र प्रतिबद्धता रहेको उल्लेख गर्दै भविष्यमा पनि यसलाई अझै सशक्त रूपमा अगाडि बढाइने जानकारी दिए। उनका अनुसार इसेवाको थिम ‘डिजिटल सशक्तिकरण’ मा आधारित कार्यक्रमहरूले प्रदेशका नागरिकहरूलाई वित्तीय जोखिमबाट जोगाउने र डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोगमा अभ्यस्त बनाउन मद्दत पुर्याइरहेको छ।
इसेवाले विभिन्न माध्यमबाट मधेश प्रदेशका ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, भविष्यमा पनि यस अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाएको छ।




प्रतिक्रिया !