जनकपुरधाम, १८ फागुन । महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावले लामो समयदेखि नगरपालिकाको प्रशासनिक तथा विकासे काममा अवरोध उत्पन्न भएको छ। प्रमुख प्रशासकीय अधिकृतको निरन्तर परिवर्तन र अस्थायी जिम्मेवारी व्यवस्थापनले नगरपालिकाको कार्यसम्पादनमा गम्भीर कठिनाइहरू देखा परेका छन्।
यस समस्याको समाधानका लागि भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिहरूले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीलाई बुझाएका छन्। नगरपालिकाका विभिन्न महत्त्वपूर्ण काम ठप्प भएकाले यस कदमलाई अन्तिम उपायका रूपमा लिइएको बताइएको छ।
प्रशासकीय अधिकृतको अस्थिर व्यवस्थापनले काममा व्यवधान आएको र विकासे योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको नगर प्रमुख साहले बताएका छन्। समान्य प्रशासन मन्त्रालयले माघ ९ गतेदेखि फागुन ४ गतेसम्म विभिन्न व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुम्पिएको थियो। सुरुआती चरणमा विजयकुमार यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइयो, पछि वरिष्ठताको आधारमा रामसागर यादवलाई यो जिम्मेवारी दिइएको थियो।
तर, फागुन ४ गते मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेपछि रामसागर यादवले निमित्तको जिम्मेवारी गुमाए। यद्यपि, घिमिरेले आजसम्म नगरपालिकामा आएर कार्यभार ग्रहण गरेका छैनन्।
मेयर साहका अनुसार घिमिरेको अनुपस्थितिले नगरपालिकाको सम्पूर्ण कार्य प्रभावित भएको छ। विशेषगरी, ठेक्का प्रक्रियामा अवरोध आएको छ, जसले गर्दा विभिन्न विकासे परियोजनाहरू र अन्य प्रशासनिक कार्यहरू ठप्प छन्। टेन्डर आह्वान गर्न नसक्दा नगरपालिकाले योजना कार्यान्वयन गर्न नसकेको र यसले नगरपालिकाको विकासमा प्रतिकूल प्रभाव परेको साहले बताएका छन्।
मेयर साहले समस्या समाधानका लागि काठमाडौंस्थित समान्य प्रशासन मन्त्रालयमा तीन दिनसम्म गुनासो गरेका थिए। तर, मन्त्रीले भेट्न समय नदिएको उनले गुनासो गरे। अन्ततः, मेयर साह र अन्य जनप्रतिनिधिहरूले तालाबन्दी गर्ने निर्णय लिएका हुन् र प्रमुख जिल्ला अधिकारीलाई साँचो बुझाएका छन्।
साहले भने, ‘प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकामा हाम्रा सम्पूर्ण कार्य अवरुद्ध भएका छन्। यसले जनताको सेवामा प्रतिकूल प्रभाव पारिरहेको छ। विकासे परियोजनाहरू अगाडि बढाउन सकिरहेका छैनौँ, जसले नगरको समग्र प्रगतिको प्रक्रिया नै ठप्प बनेको छ।’
भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति नभएसम्म, प्रशासनिक तथा विकासका कार्यहरूलाई अघि बढाउन गम्भीर चुनौतीको सामना गर्नुपर्ने देखिएको छ।




प्रतिक्रिया !