जनकपुरधाम, १७ फागुन। मैथिली कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले मधेश प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी जनकपुरधाममा आगामी फागुन २० गतेदेखि २४ गतेसम्म आयोजना गरिने भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त पहलमा हुने यस प्रदर्शनीले मिथिला क्षेत्रको समृद्ध कला र संस्कृतिलाई उजागर गर्नेछ।
प्रदर्शनीको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले फागुन २० गते बिहान ११ बजे मैथिली विकास कोष भवनमा गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा विभिन्न कलासम्बद्ध व्यक्तित्व, कलाकार, संस्कृतिविद् तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहने मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए।
यस प्रदर्शनीको मुख्य उद्देश्य परम्परागत मैथिली चित्रकला, मूर्तिकला तथा आधुनिक ललितकलालाई प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई कला क्षेत्रमा आकर्षित गर्नु हो। आयोजकका अनुसार, परम्परागत मिथिला चित्रकलालाई आधुनिक शैलीसँग संयोजन गर्दै कला क्षेत्रमा नवीन सम्भावनाहरू खोज्ने प्रयास गरिनेछ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूका अनुसार, यो प्रदर्शनीले स्थानीय कलाकारहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने सुनौलो अवसर प्रदान गर्नेछ। साथै, सहभागी कलाकारहरूको उत्कृष्ट कृतिहरूलाई भविष्यमा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा समावेश गर्ने योजना रहेको छ।
नेपाल टुरिज्म बोर्डको सहकार्यमा आयोजना हुने यस प्रदर्शनीले जनकपुरधामलाई कलात्मक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न मद्दत गर्नेछ। मिथिला संस्कृतिप्रति बढ्दो आकर्षणको कारण यस प्रदर्शनीले विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।
आयोजक संस्थाहरूले स्थानीयबासी, विद्यार्थी, अनुसन्धानकर्ता तथा कलाप्रेमीहरूलाई प्रदर्शनीमा सहभागी भई मैथिली कला र संस्कृतिको प्रवद्र्धनमा योगदान दिन आह्वान गरेका छन्।





प्रतिक्रिया !