मिथिला माध्यमिकी परिक्रमा: मटिहानीमा चौथो दिन सार्वजनिक बिदा घोषणा

 मिथिला माध्यमिकी परिक्रमा: मटिहानीमा चौथो दिन सार्वजनिक बिदा घोषणा

महोत्तरी, १७ फागुन।  मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन आइतबार मटिहानी नगरपालिकाले परिक्रमा यात्रीहरूको स्वागतका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मटिहानी नगर कार्यपालिकाले नगरवासीहरूलाई परिक्रमा मेलामा सहभागी गराउन र आगन्तुक तीर्थयात्रीहरूको स्वागत गर्न सहज होस् भन्ने उद्देश्यले बिदा घोषणा गरेको हो।

 

परम्पराअनुसार ‘डोला’ (श्रीराम र सीताको प्रतिमा राखिएको डोली) सहितका तीर्थयात्री परिक्रमा यात्राको चौथो दिन मटिहानीमा प्रवेश गर्छन्। मटिहानी महोत्तरी जिल्लामा परिक्रमा प्रवेश गर्ने पहिलो महत्वपूर्ण गन्तव्य भएकाले यहाँ विशेष धार्मिक कार्यक्रम तथा मेला आयोजना गरिन्छ।

 

नगर प्रमुख हरिप्रसाद मण्डलका अनुसार, मिथिला माध्यमिकी परिक्रमा केवल धार्मिक यात्रा मात्र नभई सम्पूर्ण मिथिला सभ्यता र संस्कृतिको पहिचानसँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक परम्परा हो। नगरवासीहरूलाई यस सांस्कृतिक कार्यक्रममा सहभागी गराउन र आगन्तुकहरूको स्वागतका लागि नगरपालिकाले बिदा दिने परम्परा पछ्याउँदै आएको बताइएको छ।

 

परिक्रमा यात्राका लागि मटिहानीसँगै अन्य विश्रामस्थलहरूमा पनि धार्मिक मेला तथा कार्यक्रम आयोजना गरिन्छ। यात्राको पाँचौँ दिन जलेश्वर, छैटौँ दिन महोत्तरी गाउँपालिकास्थित मडै, सातौँ दिन बलवा नगरपालिकास्थित ध्रुवकुण्ड, र आठौँ दिन भङ्गहा नगरपालिकास्थित कञ्चनवनमा विश्राम हुनेछ।

 

परिक्रमा यात्रामा हजारौँ साधु–सन्त, गृहस्थ तीर्थयात्री र भक्तजनहरू सहभागी हुन्छन्। मिथिला माध्यमिकी परिक्रमा नेपालका धनुषा, महोत्तरी र भारतको मधुवनी जिल्लाका धार्मिक स्थलहरूमा पुगेर सम्पन्न हुन्छ। श्रीरामको ‘डोला’ धनुषाको मिथिला विहारी मन्दिरबाट र श्री सीताको ‘डोला’ जनकपुरधामस्थित सुन्दरसदन मठबाट यात्रा प्रारम्भ हुन्छ।

 

यात्राका १५ दिन विभिन्न स्थानमा विश्रामपछि अन्तिम १६औँ दिन जनकपुरधाममा अन्तरगृह परिक्रमा गरी यात्राको समापन गरिन्छ।

 

परिक्रमा यात्राको बढ्दो लोकप्रियता र हजारौँ श्रद्धालुहरूको सहभागितालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सुरक्षाका लागि विशेष योजना बनाएको छ। परिक्रमा हुने स्थानहरूमा स्वास्थ्य सहायता कक्ष, ट्राफिक व्यवस्थापन, खानेपानी तथा स्वच्छताका लागि आवश्यक प्रबन्ध मिलाइएको छ। महोत्तरीका अन्य चार स्थानीय तहले पनि यस परम्पराअनुसार आफ्ना क्षेत्रहरूमा सार्वजनिक बिदा दिएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार