प्रेम सम्बन्धका कारण हत्या: धनुषा प्रहरीले एक महिलालाई पक्राउ गर्‍यो

प्रेम सम्बन्धका कारण हत्या: धनुषा प्रहरीले एक महिलालाई पक्राउ गर्‍यो

सुनिल कुमार साह ,

लोक आवाज ,जनकपुरधाम, १५ फागुन – धनुषा प्रहरीले कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षीय शहिद अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षीया अनिता कुमारी यादवलाई पक्राउ गरेको छ। मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीपछि अनुसन्धान गर्दै प्रहरीले अनितालाई घरबाट नियन्त्रणमा लिएको हो।

 

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छ। अन्सारीको शव गत पुस ४ गते मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित जनकपुर–धनुषाधाम सडकखण्डको खैरा खोलाको पुलमुनि भेटिएको थियो। उनको शव बोराभित्र बाँधिएको, निधार र घाँटीमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले घटनालाई रहस्यमय मानेर थप अनुसन्धान थालेको थियो।

 

प्रहरीको अनुसन्धानमा मृतक अन्सारी र अनिता यादवबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको खुल्न आयो। अन्सारी कतारमा काम गर्दै आएका थिए र उनले अनितालाई बेलाबेला आर्थिक सहयोग गर्दै आएका थिए। तर यो सम्बन्ध नै अन्ततः उनको हत्याको कारण बन्न पुग्यो।

 

अनिताको श्रीमान् राजकिशोर यादव साउदीमा कार्यरत थिए। मंसिर १५ गते राजकिशोर नेपाल फर्केपछि उनले अनितासँग मिलेर अन्सारीको हत्या योजना बनाएको अनुसन्धानले देखाएको छ। घटनामा अनिताले अन्सारीलाई नेपाल झुक्याएर बोलाएकी थिइन्। उनले अन्सारीलाई आफ्नी श्रीमती गम्भीर बिरामी भएको बहाना बनाएर नेपाल आउन आग्रह गरिन्। यसैकारण अन्सारी मंसिर २६ गते नेपाल फर्किएका थिए।

 

मंसिर २७ गते अनिताले अन्सारीलाई आफ्नो घरमा बोलाइन्, जहाँ उनलाई बन्धक बनाएर राखियो। त्यसपछि अनिताले आफ्ना श्रीमान् राजकिशोरसँग मिलेर बञ्चरोले अन्सारीमाथि प्रहार गरे, जसले उनको मृत्यु भयो। शवलाई लुकाउनका लागि दुवैले अन्सारीको शवलाई बोराभित्र राखेर खैरा खोलाको पुलमुनि फ्याँकेका थिए।

 

घटना पछि, अनिताका श्रीमान् राजकिशोर साउदी फर्किएका थिए। प्रहरीको भनाइ अनुसार, हाल अनितालाई नियन्त्रणमा लिइएको छ र राजकिशोरलाई नेपाल ल्याउन कानुनी प्रक्रिया अघि बढाइएको छ।

 

धनुषा प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार, घटनामा संलग्न अन्य पक्षहरूबारे थप अनुसन्धान भइरहेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार