जनकपुरधाम , १४ फागुन । आज महाशिवरात्रि पर्व हिन्दू धर्मावलम्बीहरूले धूमधामका साथ भगवान शिवको पूजा गर्दै मनाउँदैछन्। जनकपुरधामका शिव मन्दिरहरूमा पनि श्रद्धालुहरूको ठूलो भीड लागेको छ। महाशिवरात्रिको अवसरमा जनकपुरधामका शिव मन्दिरहरूलाई विशेष रूपमा सजाइएको छ। शिव चोकको शिव मन्दिर, गंगासागर पोखरीको डिलको भूतनाथ मन्दिर, कुपेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ।
जनकपुरधामकै कपिलेश्वरनाथ महादेव मन्दिर र गिरनारी कुट्टीमा रहेको शिव मन्दिरमा पनि श्रद्धालुहरूको उपस्थिति छ। तर, जनकपुरधामका यी ऐतिहासिक शिव मन्दिरहरूको पौराणिकता र ऐतिहासिकता प्रचार-प्रसारको अभावमा ओझेलमा पर्दै गएको स्थानीयको गुनासो छ।
कपिलेश्वरनाथ महादेव मन्दिर

त्रेता युगमा मिथिलाका राजा शिरध्वज जनकले जनकपुरधामको चार कुनामा महादेव मन्दिर स्थापना गरेका थिए। तिनैमध्ये कपिलेश्वरनाथ महादेव मन्दिरको ऐतिहासिक महत्व रहेको भए पनि यसको व्यवस्थापन र संरक्षणमा चासो नदिइएको स्थानीयको गुनासो छ। यो मन्दिरको विकासका लागि प्रदेश सरकार वा स्थानीय निकायको खासै ध्यान नपुगेको देखिन्छ।
वि.सं. १९९० सालको भूकम्पले मन्दिर भत्किएपछि अभिलेख र बहुमूल्य मूर्तिहरू अन्यत्र लगिएको भनाइ छ। हाल यो मन्दिरमा शिवलिंग पुन:स्थापना गरेर मन्दिरको निर्माण स्थानीयहरूको सक्रियतामा सम्पन्न गरिएको हो।
गिरनारी कुट्टीको शिव मन्दिर

गिरनारी कुट्टीमा रहेको शिव मन्दिरमा भने शिवरात्रिमा पनि खासै तयारी गरिएको देखिदैन। यो मन्दिरमा दुई शिवलिंग छन्— एक कालो र अर्को सेतो। धार्मिक रूपमा सेतो शिवलिंग दुर्लभ मानिन्छ। तर, वि.सं. २०२९ मा त्यहाँका महन्थको हत्या भएपछि १२ वर्षसम्म मन्दिर बन्द रह्यो। अहिले मन्दिर खुले पनि पुरानो रौनक फर्किन सकेको छैन।
यो मन्दिर गुठी अधिनस्थ रहेको भए पनि गुठी संस्थानले यसलाई संरक्षणमा खासै चासो देखाएको छैन।




प्रतिक्रिया !