लोक आवाज
जनकपुरधाम, १४ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव दुबईमा मधेशी एकता समाजको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका छन् भने जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउत अहिले पनि दुबईमा छन्। जसपा नेपाल र जनमत पार्टीबीचको प्रतिष्पर्धा अब विदेशमा पनि देखिन थालेको छ।
जसपा नेपालले मधेशी एकता समाजमार्फत आफ्नो संगठनलाई विदेशमा विस्तार गर्ने प्रयास गरिरहेको छ। हाल जसपा नेपालको प्रवास विभाग प्रमुख सुरेश मण्डल रहेका छन्, र मधेशी एकता समाजका अन्तर्राष्ट्रिय अध्यक्ष डा. रविन्द्र यादव जसपा नेपालसँग निकट छन्। जसपा नेपालले प्रवासमा रहेका मधेशी समुदायसँग आफ्नो संगठन विस्तार गर्न कदम चालेको छ।
अध्यक्ष यादवको भ्रमणको उद्देश्य प्रवासमा संगठन विस्तार गर्ने रहेको जसपा नेपालका महासचिव रामकुमार शर्माले बताएका छन्। उनका अनुसार जसपा नेपालले नेपाली कामदार रहेका हरेक देशमा आफ्नो संगठन विस्तार गर्न योजनाबद्ध ढंगले अघि बढिरहेको छ।
त्यसैगरी, जनमत पार्टीले पनि विदेशमा आफ्नो संगठन विस्तारलाई सक्रिय राख्न प्रयास गरिरहेको छ। जनमत पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार, जनमत पार्टीले विदेशमा एनआरएम (गैर आवासीय मधेशी संघ) नामक संगठन स्थापना गरेको छ, जसले पार्टीलाई ठूलो आर्थिक सहयोग पुर्याइरहेको छ। दुबईबाट मात्र जनमत पार्टीले महिनाको १४ लाख रुपैयाँ सहयोग प्राप्त गर्ने गरेको छ।
यस पटक दुबईमा आयोजित होली मिलन समारोहमा जसपा नेपाल र जनमत पार्टी दुवैका अध्यक्षहरुको उपस्थिति रहेको थियो। जसपा नेपालले आफ्नो संगठनलाई विदेशमा पनि प्रभावकारी बनाउन ठूलो संख्यामा युवाहरूलाई आकर्षित गरेको छ भने जनमत पार्टीले पनि आफ्नो प्रभाव कायम राख्न सक्रियता देखाएको छ।
मधेश प्रदेशमा जसपा नेपाल र जनमत पार्टी कट्टर प्रतिद्वन्द्वी मानिन्छन्। स्वदेशमा जसपा नेपालको बलियो संगठन भए पनि विदेशमा जनमत पार्टीको बलियो आधार रहेको छ। जसपा नेपालले प्रवासमा जनमत पार्टीको प्रभावलाई कम गर्न रणनीति बनाइरहेको छ।
महासचिव शर्माका अनुसार, जसपा नेपालको अभियान कुनै पार्टीको प्रभाव घटाउन नभई आफ्नो संगठन विस्तार गर्नमा केन्द्रित छ। अब विदेशमा पनि दुवै पार्टीबीच संगठन विस्तारको प्रतिस्पर्धा देखिने छ।




प्रतिक्रिया !