फागुन १५ देखि काठमाडौँमा डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

फागुन १५ देखि काठमाडौँमा डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ , १३ फागुन —  फागुन १५ गतेदेखि काठमाडौँमा ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना हुने भएको छ। महान्यायाधिवक्ता कार्यालयको आयोजनामा हुने यो सम्मेलन फागुन १५ र १६ गते काठमाडौँमा सम्पन्न हुनेछ। सम्मेलनको उद्देश्य डिजिटल अपराधको अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई थप प्रभावकारी बनाउनु र अन्तर्राष्ट्रिय अनुभवहरूको आदानप्रदान गर्नु रहेको छ।

 

महान्यायाधिवक्ता रमेश बडालले यस सम्मेलनले कानूनी, नीतिगत र संस्थागत सुधारको मार्गचित्र तय गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले सम्मेलनले डिजिटल अपराध नियन्त्रणका सन्दर्भमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय बनाउने र सुधारको दिशा देखाउने उल्लेख गरेका छन्।

 

सम्मेलनमा नेपालसहित १३ राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ, जसमा संयुक्त राज्य अमेरिका, बेलायत, नेदरल्याण्ड्स, मलेसिया, साउदी अरेबिया, सिंगापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे र रुसका ९० भन्दा बढी सरकारी वकिल, कानून विज्ञ, न्यायाधीश र सम्बन्धित निकायका उच्च अधिकारीहरू सहभागी हुनेछन्।

 

सम्मेलनमा ४ वटा प्लेनरी सत्र र ८ वटा समानन्तर सत्रहरूमा १६ वटा कार्यपत्रहरू माथि छलफल गरिनेछ। यौनजन्य हिंसा, साइबर अपराध, डिजिटल ठगी, वित्तीय अपराध, अनलाइन शोषण, व्यक्तिगत गोपनीयता उल्लंघन, डिजिटल प्रमाण संकलनका विधिहरू, अन्तर्राष्ट्रिय कानूनी सहकार्य, र साइबर कानूनी नीति निर्माणजस्ता महत्त्वपूर्ण विषयमा गहन छलफल गरिनेछ।

 

महान्यायाधिवक्ता बडालले सम्मेलनको आयोजनाले न्यायिक सुधार, प्रविधि अनुरूप कानूनी संरचना निर्माण, मानव अधिकार संरक्षण, र साइबर अपराध नियन्त्रणका क्षेत्रमा नेपाललाई थप सशक्त बनाउन सहयोग गर्ने बताएका छन्।

नेपालले यस सम्मेलनमार्फत अन्तर्राष्ट्रिय अनुभवहरूसँग आफ्नो कानूनी प्रक्रिया सुधार्दै प्रविधिसँगै अघि बढ्न मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार